ओशो भन्छन् :
"Energy itself is neutral, when it is expressed biologically, it is sex. When it is expressed emotionally, it may become love, it may become hate, it may become anger. When it is expressed intellectually, it may become scientific, it may become literary. When it moves through the body, it becomes physical. When it moves through the mind, it becomes mental. The differences are not differences of energy as such, but of the applied manifestations of it."
म ओशोलाई बहुत मनपराउँछु । सामाजिक सञ्जालबाट टाँढा रहँदा मन चञ्चल हुनु स्वभाविक हो । म त्यस चञ्चलताको उत्तर खोज्दैैछु सायद ओशोका शब्दहरुमा । उनका किताब पढेर मैले ध्यानसँग सम्बन्धित कैयौँ कुरा बुझ्न सक्दिन तर कता कता आफुलाई भेट्छु । जीवनका कति कुराका उत्तर भेट्छु । पढ्नुको एउटा सुन्दरता यहि हो ।
सामाजिक सञ्जालका बारेमा एकाध अध्ययनहरु पढिरहेको थिएँ एउटा अनौठो कुरा थाहा लाग्यो । सामाजिक सञ्जालमा पोस्ट गर्नु पछाडिको एउटा डरलाग्दो सत्य । अध्ययन भन्दछन् : मानिस स्वभावैले एउटा यस्तो जात हो जस्लाई बेला बेला समाज र आफू वरपरका मानिसले आफुलाई स्वीकारेको मन पराउछ । उसलाई ढाढस दिएको मन पराउछ । यो चिज सामाजिक संजालमा पनि देखिन्छ । भनिन्छ जो मानिस आफ्नो शरीरको बनोट प्रति असन्तुष्ट छ वा त्यसलाई आफुले चिताएको जस्तो पाउँदैन उसले ठिकै त छ नि जस्तो कमेन्ट पढ्ने आसमा सामाजिक संजालमा बारम्बार आफ्नो शरीर देखिने फोटो राख्दछन् । त्यस्तै एक्लो महशुस गरिरहेको मानिसले नजिकका साथीहरुलाई गुहार्नुको साटो ट्विटर अथवा फेसबुक जस्ता सञ्जालमा एक्लोपन ओकल्छन् । उसको त्यो स्टाटस अथवा उसको पोस्टमा मानिसले भलै कमेन्ट र लाइक गरे पनि उसको एक्लोपनको बास्तविक समस्या समाधान भएको हुँदैन । उसलाई भान हुन्छ कि मेरो वरीपरि मलाई मन पराउने मानिस छन् । तर यो सत्य हैन । मैले देखेको छु एक दिन अघि सम्म साथीभाइ सँग रमाएको फोटो हाल्ने मेरो एउटा छिमेकी केटो भोली बिहान फ्यानमा पासो लगाएर झुन्डिएको । बिहानै उसको झुन्डिरहेको शरीर हेर्दा मात्र मैले उसको सामाजिक सञ्जालको पर्दा पछाडि लुकेको उस्को यथार्थ देखेको थिएँ । त्यो दिन मेरो मन भन्दा पनि चेतना धेरै रोयो ।
त्यस्तै अध्ययनले अर्को उदाहरण दिएको छ । जो मानिसको घरमा पारिवारिक सम्स्या छ उसैले सामाजिक सञ्जालमा सुन्दर परिवारका भनाइ र परिवारको फोटो हाल्ने गर्दछन् । यो पढ्दै गर्दा मलाई कैफी आजमीको एउटा गजलको लाइन याद आयो ।
तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो
मानिस मुस्कुराउनु स्वभाविक हो तर सामान्य भन्दा धेरैनै मुस्कुराएको कोहि मानिसले कहिलेकाँहि पिडा लुकाउनलाई मुस्कानको पर्दा भिरेको हुन्छ । आज म यस गजलसँग थप नजिकिएको छु ।
जहाँ सम्म मेरो सामाजिक सञ्जालको कुरा छ । म पनि मेरा कविता वा लेखलाई कसैले राम्रो भनिदियोस् भन्ने हेतुले पोस्ट गर्दो हुँ सायद । कहिलेकाँहि कवितामा कम भिउ आउँदा कसैले भन्न खोजेको कुरा नबुझिदिँदा मलाई पनि ननिको लाग्दो हो । मलाई मात्र हैन यो सबैलाई हुँदो हो । मलाई लाग्छ मानिस यसरी बाँच्न जन्मिएको प्राणी हैन । हो उसलाई ढाढस चाहिन्छ र कसैले काँध थपथपाएको मन पर्छ । तर उसको जीवनमा कर्म प्राथमिकता हुनुपर्दछ न कि ढाढा र स्विकारोक्ति । भागवत गीताको अध्याय दुईमा मा भगवान श्री कृष्ण भन्नु हुन्छ कर्म गर तर फलको आशा नगर । सामाजिक सञ्जालमा त्यो उल्टो छ । फल चाढै पाइएको आभाष भएपछि मानिस बिस्तारै कर्म प्रति उदासिन बन्दै जान्छ । जीवनको प्राथमिकता कर्म हो । ओशोले भनेको छन् जीवन शक्ति एक छ र त्यसलाई के मा लगाउने मानिसको चेतनामा निर्भर हुन्छ । यसको पुर्ण जिम्मेवारी मानिस आफैमा निहित छ ।
- विजय लुइटेल
पाठकलाई आजको उपहार : कैफी आजमी द्वारा लिखित, संगीत जगजीत सिंह , चित्रा सिंह र स्वर जगजीत सिंह : तुम इतना जो मुस्कुरारहे हो ।
यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ ।
पाँचौ दिनको लेख पढ्न यहाँ क्लिक गर्नुहोला ।
Comments
Post a Comment