छाल यसरी फैलन्छ मानौं आकाश भइदिन्छ
म यसरी बिख्रन्छु आफैँ नभई हराई दिन्छु
एक थोपा आशा
हलचल गराइदिन्छ स्वप्न
एक मिठो बतास
अन्तस्करण भिजाइदिन्छ
म लजाउँछु भावनाको उन्माद देखी
अस्तित्वलाई स्वीकार्न डराउँछु
बतासिन्छु विचारका बहावमा
जीवनलाई सतही स्वीकार्दछु
यो ताल जो यति सुन्दर छ
के यो पनि डराउँछ आफैसँग ?
कि छाल देखेर, आफैँसँग लजाउँछ ?
म देख्दछु
विचलित भएर पनि अविचलित
एक सूक्ष्म अनुभूति छ
यो चञ्चलतामा ...
जीवनका अर्थ जहाँ आह्लादित छन्
तालझैँ मैले पनि अब
आफैमा डुब्न सिक्नु छ ...
-विजय लुइटेल
Comments
Post a Comment