Skip to main content

Posts

Showing posts from October, 2023

कवि जाँदा - प्रचण्ड भाष्करलाई

  आँखा आफ्ना लिएर गएछ कवि   जसले जीवनलाई जीवन्त देख्दथे  मनहरुको नेतृत्व गर्ने  मन पनि साथै लगेछ    लगेछ सुख दु:ख दुवैका आवाज   शब्दहरुको सार आफैसँग लगेछ  तर केेही शब्द छुटेछन्  जिउँदै गर्दा उस्का खल्तीबाट  केही अर्थ छुटेछन्  सिक्दै गर्दा उसका चेतनाबाट  मेटाउँदै गर्दा पनि उसलाई जीवलले  आज , आफैमा उसको चित्र कोरेछ  - विजय लुइटेल

सम्झनामा दशैं

  हातको छालै पिल्सँदा पनि  उडाइदिन्थेँ आकाश तिर खबर  इन्द्र यस साललाई पानी पुग्यो लेखेर  मेरो दुई धर्के चङ्गामा  देखे होलान् सायद उनले  उडी आएको मन स्वर्गतिर सोधे होलान् खबर उनले  कस्तो छ त्यहाँ भुलोक तिर  मलाई मन उडाएको याद छ  आकाशलाई घर बनाएको याद छ  चरीलाई गिज्याउँदै उडानले  मनैमन रमाएको याद छ  याद छ, केवल याद मात्र छ  बालाई धागो किनिदिन घुर्क्याएको  साथीलाई टी गरिदिन फुर्काएको  याद छ, केवल याद मात्र छ दिन जो बतासको पर्खाइमा गुज्रन्थे  खुसी जो लट्टाइको घुमाइमा हुर्कन्थे  याद छ, केेवल याद मात्र छ  थोरैमा रम्ने उमेर बोकी  चङ्गा छोप्न कुदेको  आकाशलाई जिते मैले भनी  आफ्नै अहम भित्र लुकेको  याद छ अब केवल याद मात्र छ । - विजय लुइटेल

आफैैँमा डुब्नु छ । Rara Lake Poem

  छाल यसरी फैलन्छ मानौं आकाश भइदिन्छ  म यसरी बिख्रन्छु आफैँ नभई हराई  दिन्छु  एक थोपा आशा  हलचल गराइदिन्छ स्वप्न  एक मिठो बतास  अन्तस्करण भिजाइदिन्छ  म लजाउँछु भावनाको उन्माद देखी अस्तित्वलाई स्वीकार्न डराउँछु  बतासिन्छु विचारका बहावमा  जीवनलाई सतही स्वीकार्दछु  यो ताल जो यति सुन्दर छ  के यो पनि  डराउँछ आफैसँग ?  कि छाल देखेर, आफैँसँग लजाउँछ ?  म देख्दछु  विचलित भएर पनि अविचलित एक सूक्ष्म अनुभूति छ  यो चञ्चलतामा ... जीवनका अर्थ जहाँ आह्लादित छन्  तालझैँ मैले पनि अब  आफैमा डुब्न सिक्नु छ ... -विजय लुइटेल