द पोयट आइडल र झ्यालका भँगेराहरु

 


द पोयट आइडल सिजन २ को शिर्ष १४ मा छानिएसँगै पहिलो पल्ट जीवनमा केवल कविता लेख्नु पर्ने काम आइपर्यो । बिहान उठ , कवितानै सोच , दिनभर कविता बाँच , सुत्ने बेला पनि कविताकै सपना देखुँ भन्ने कामना गर्दै सुत । कवितालाई कसरी थप परिस्कृत र सुन्दर बनाउन सकिन्छ केवल यतिनै थियो त्यस समयको उद्देश्य । म उत्साहित थिएँ । आफुलाई चिन्नु पनि थियो । आफ्नो क्षमतालाई एकपल्ट छाम्नु थियो । पहिलो दिन बौद्धमा रहेको उत्पला क्याफेको होस्टेल पुगेँ । अडिसनमा मैले भेटेको बुङ्छेङ राई होस्टेल पुगिसकेको रहेछ , मलाई देख्ने बित्तिकै मेरो झोला कोठासम्म लैजान सहयोग गर्यो । त्यही जगल्टे मानिसँगै हो होस्टेलमा मेरो पहिलो संवाद भएको  । बुङछेङ सँगै अर्को एउटा दुब्लो न दुब्लो मानिस थियो , गोर्खे चार्ली जसले पहिलो भेटमै भने :  विजय जी तपाई अलिक ढिलो आउनु भयो हामी त यहाँ पोथीको मासु खाँदा खाँदै वाक्क भइसक्यौँ । बेलुका सधै होस्टेलले बुङछेङलाई पोथी काट्न बोलाउँछ अनि त हामी सधै मासु भात मात्रै अब तपाईलाई पनि एकाध दिनमा मासु भनेपछि वाक्क लाग्छ । मैले ठिकै छ गोर्खे जी जे भएनी खाने त हो नी भनेर त्यसै कुरा टुङ्ग्याएँ । १० जना सुत्न मिल्ने बिशाल कोठामा पुगेपछि मैले दाहिने पट्टीको माथिल्लो बङ्क बेड छाने र पोयट आइडल यात्राभर त्यही सुत्ने निधो गरेँ । के के गफ गाफ गरेर दिन त बितिगयो , साझँ खाना खाने बेला बल्ल थाहा पाएँ उत्पला भेजिटेरियन रेस्टुरेन्ट रहेछ । दिउँसो पोथी काटेर खाइन्छ भन्ने कुरा गोर्खे चार्लीले मासु खान नपाएको गुनासो सुनाएका रहेछन् । साला पहिलो दिननै मजाक बनाए केटाहरुले भन्दै एकछिन हाँसिदिएँ । 


याद छैन कुन दिन हो भनेर । सायद पहिलो एपिसोडको अघिल्लो दिन हुनु पर्छ । म सुत्ने झ्यालको भेन्टिलेसनको चेपमा भंगेरले गुँड बनाउन सुरु गर्यो । कविता लेख्न विषय दिएपछि दुई दिन सम्म मोबाइल खोसिदिने नियम भएकाले म के गरौँ के गरौँको दोधारमा पर्थे । मोबाइल धेरै चलाउने भएककाले खाली समयको बानी त्यस्तो थिएन ।केही बेर खाली बस्नु पर्दा केही कुराले अठ्याए जस्तो हुन्थ्यो । कविता फुर्दा त डायरीमा कविता लेखिहालिन्थ्यो, नफुरेका बेला भने म ओछ्यानमा पल्टिएर भँगेराको गनगन सुन्न थालेँ । केहि दिनमा मलाई त्यसैमा शान्ति पनि मिल्न थाल्यो । एकोहोरो भएर एउटा भावनालाई नखेलाएको जुगौँ भएको रहेछ । पहिलो कविता आँगनको गर्त लेख्न बस्दा यस कुरालाई आत्मसाथ गरेँ । पहिले पनि कविता लेखेको थिएँ , नयाँ कुरा थिएन मेरा लागि कविता लेख्नु तर केही काम नभएपछि लेखेको कवितालाई बारम्बार हेरिने रहेछ । त्यसलाई काँटछाँट गरिने रहेछ । अनावश्यक कुराहरु फालिने रहेछ ,  आवश्यक कुराहरुलाई हालिने रहेछ । मैले पहिले पहिले कवितालाई एउटा शरीर दिए पनि त्यसलाई श्रृंगार्न भने पाएको रहेनछु । मैले त्यसबेला थाहा पाएँ कि मलामी हिँडेका कवितालाई रातो लगाइदिनु हुन्न । बिहेमा हिँडेका बेहुली कवितालाई सेतो लगाइदिनु हुन्न । खेल्न हिँडेका कवितालाई टाइ लगाइदिनु हुन्न । जस्तो म कपाल यता फर्काउँदा राम्रो देखिन्छु , या कपाल ठाडो पार्दा राम्रो देखिन्छु भनेर सोच्दछु , कविताको पनि कपाल मिलाउनु पर्दो रहेछ , मुख धोइदिनु पर्दो रहेछ , कचेरा हटाइदिनु पर्दो रहेछ । तब बल्ल उसले देख्दो रहेछ आफ्नो सुहाउँदो रुप । अनि मैले पनि त्यही बहानामा आफुलाई गहिरिएर देख्दो रहेछु ।  मैले कवितालाई जाने जति, मेरो चेतना र मनले भ्याए सम्म श्रृंगार्न थालेँ । त्यो प्रक्रिया मन पनि पर्न थाल्यो । अहिले पनि त्यही बानी लागेको छ ।


बिस्तारै एपिसोडहरु टिभीमा आउँन थाले , नयाँ नयाँ कुराहरु सिक्न थालियो र यता भँगेराले गुँड बनाएर चल्ला पनि पायो । गुँडबाट खासखुस सुन्ने मैले अब चिर्विर धेरै सुन्न थाले । यसो हेर्ने हो भने त्यो आवाज मान्छैलाई डिस्टर्ब गर्ने खालको आवाज हो तर किन हो म भँगेराको आवाजसँग सहज हुँदै गइरहेको थिएँ । सिरानमा भगवत गीताको किताव थियो , बेलुकीपख त्यही पढेर समय बिताउँथे , भोक लागेर हो वा आमा गुँडमा नफर्केकाले हो त्यस बेला भँगेराका बचेराहरुको आवाज झन् चर्को हुन्थ्यो । सबै प्राणीहरुमा मै बास गर्छु भनेर श्रीकृष्णले भनेका वाणीहरु बारम्बार मलाई सम्झिरहन्थेँ “ विजय ध्यान दिएर सुन , भेन्टिलेसनमा भगवान गुनगुनाइरहनु भएको छ । त्यसरी मैले हरेक साँझ भगवानलाई सुनेर निदाउँन थालेँ । आफैँसँग नजिक भएको आभाष हुन्थ्यो । भगवानसँग निकट भएको आभाष हुन्थ्यो । 


दिन बित्दै गए, महिना फेरियो , कोठाका साथीहरु एलिमिनेट हुँदै अलि अलि गर्दै घर फर्कँदै गए । पहिले भरिभराउ हुने कोठा बिस्तारै खाली खाली हुँदै गयो । म सोचिरहन्थेँ म यदि आउने एलिमिनेसनमा एलिमिनेट भएँ भने भँगेराहरुको गनगन सुन्न पाउने छैन । यहि एउटा सोचले पनि मलाई कस्तो कस्तो नरमाइलो लाग्थ्यो । भँगेराले बचेराहरु उडाएको हेर्न पाए कस्तो हुने थियो भनेर बारम्बार मनैमन इच्छा गरिरहन्थेँ । कविताकै बारेमा दिनरात सोचिरहँदा र मोबाइल छोडेर एकाध रात आफैसँग रुम्मलिँदा ,  मैले थाहै पाइनँ म एकदमै पिन्चे भइसकेको रहेछु । आफु भित्रका संवेदनाहरुसँग राम्रो चिनजान भएछ । मैले तिनलाई चिन्न थालेछु ।  कविता “हात्ती उवाच” लेख्दाको कुरा हो , एउटा हात्तीले गरिबीबाट आजित भएर पासो लगाउन जङ्गलको बाटो हेर्ने माहुतेलाई भनेको कुरा मैले आफ्ना शब्दमा लेखेको थिएँ “ माउते दाई, पासो बोकेर साँझमा तिमी यसरी जङ्गल तिर नहेर्नु , मलाई घरको सम्झना आउँछ” यी शब्द कापीमा उतार्दा मलाई बर्रर आँसु आएको थियो । थाहा छैन किन ।  साँझमा भँगेराहरु उसैगरि कराइरहेका थिए । मैले त्यो कोलाहलमा पनि यस्तो मिठो शान्ति पाएको थिएँ । त्यस शान्तिलाई कुनैदिन म शब्दमा सायद उतार्न सकुँला या त्यो नहुन सक्छ । यस पल भने म त्यो गर्न असक्षम छु ।


भाग्यमानीनै रहेछु , मलाई मनपराइदिने धेरै मानिसहरुले भोट गरिदिनुभयो, देश विदेशबाट उत्तिकै माया पाएँ र म फाइनल सम्म पुगेँ । संयोगवस बचेराहरुलाई फाइनल हुनु केहि दिन अघि भँगेराले गुँडबाट उडायो पनि । म सोच्छु पोयट आइडलको टप ८ सम्म पुगेपछि मलाई फाइनल पुग्ने र जित्ने भन्दा पनि भँगेरा साना बचेराहरु उडेको हेर्ने ज्यादा चाह थिएछ । त्यसैले होला मलाई थाहै नपाइ लेख्ने प्रेरणा मिलेको । वर्तमानमा जिउँन सके उद्देश्य खासै उपयोगी हुँदैन कि जस्तो पनि लाग्दछ यस पल मलाई । देवकोटाले भनेथे उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । मलाई सुति सुन्नु भँगेरा अनेक फाप्यो । सायद भ्रममा छु , या सत्यको निकट । थाहा छैन । 


केहि बेर अघि  घाम ताप्दै हाङ काङको भेजिटेरियन किताव पढ्दै आफ्नो घरको छतमा बसिरहेको थिएँ  । एकाएक भेजिटेरियन रेष्टुरेन्ट, उत्पला र गोर्खे चार्लीको पोथी काटेको काल्पनिक कथा चेतनामा घुम्न थाल्यो । त्यतीकैमा केही भंगेराहरु छतलाई बार्ने पर्खालमाथी आएर चिरबिर पनि गर्न थाले । स्मृतिले मलाई  पोयट आइडल तिर डोर्यायो । माघ महिनामा , यसपाली अनौठो किसिमले मौसम खुलेको छ । यस्तो लाग्छ माघको सुरुवात नभएर फाल्गुनको अन्तिम समय चलिरहेछ । हिमालमा हिउँ कम छ अनि  हिउँ बोकेर आउने चि..सो सिरेटो छैन । मन्द चलेको मनतातो  बतास छ जसले हल्लाइरहेको छ मेरो कपाललाई । म एउटा विशाल आकाश मुनि आज त्यसै मुस्कुराइरहेको छु । 


विजय लुइटेल 

माघ ९, २०८१ 

धुन्चेपाखा, भक्तपुर 

Comments

  1. Lovely Mero Dai 🌼💚

    ReplyDelete
  2. साले पोइट आइडलको कुरा गर्दा नी हाम्लाई नसम्झने ।

    ReplyDelete
  3. गज्जव । सायद ति भगेराका बचेरा जवान भए, कविको साहित्यमा परिपक्वता झै।

    ReplyDelete

Post a Comment