सुरुवात अन्त्यबाट गरौँ । राजागंज चलचित्रको अन्त्यमा चलचित्रको मुख्य पात्रले एक प्रेस रिलिज मार्फत अन्याय भएकी एक मधेसी महिलाको हकमा आफ्ना सबुत पेस गरिदिन्छन् । त्यस पस्चात मुख्य पात्रलाई पछाडिबाट वाइड एङ्गलमा देखाइन्छ । जहाँ मुख्य पात्रको टाउको र काँध देखिएको हुन्छ । क्यामेरा मुवमेन्ट ह्यान्डहेल्ड छ जसले टेन्सन किय्रट गर्दछ । म सोचिरहन्छु कि अब कसैले आएर उसलाई पछाडिबाट न्याकिदिन्छ वा गोलीले एकैपल्टमा सिध्याइदिन्छ । मन एकतमासको भइरहन्छ । थाहा छैन किन मैले त्यही क्षण आफैलाई प्रश्न गरेँ , म किन कसैले पात्रलाई मारिदियोस् भनेर यति धेरै चिताइरहेको छु ? चलचित्रको मुख्य पात्रले न्याय माथि भरोषा दिलाइरहेछ र म त्यो झुटो हो भन्न खोजिरहेछु । तब मलाई एकाएक बोध भयो म पनि पसिसकेको रहेछु नकारात्मकताको लतमा जसको सामिप्यले मात्र मनलाई आनन्द दिने रहेछ । नेपाली फिल्ममा कुनै मानिसले न्याय नपाएको कस्तो नसुहाएको , चेतनाले बारम्बार भनिरह्यो । म सँगै फिल्म हेर्न गएका राजु झल्लु प्रसाद सँग हल बाट निस्किएर यो कुरा साझा गर्दै भने दाजु फिल्म त मेरा लागि ऐना जस्तो पो भयो , मलाई त आफ्नो नकारात्मकता पो देखाइदियो । भाइ यार, त्यसरी त मैले सोचिनऽ यो त फिल्मले आफुलाई समेत आफुसँग परिचित गराएको अनुभव हो यसलाई लेख है भनेर उनले सुझाएका कारण जीवनको पहिलो चलचित्र रिभ्यु लेख्दैछु :
फिल्म राजागंज मधेसका मानिसहरुमाथि हुने भेदभाव र अन्यायलाई दर्साउने एउटा सबल चलचित्र हो, जहाँ कुनै पनि समुदाय र समप्रदायलाई तल माथि नदेखाइकन र उनीहरुको परिचयलाई असर नगर्ने गरि सन्देश सम्प्रेषण गरिको छ । मधेसभर आन्दोलन चर्किरहेको बेला त्यहीँ भित्र अन्यायमा परेकी एक मधेसी महिलाले आफ्नो आवाज सुनियोस् भनेर गरेको आन्दोलन हो फिल्म राजागंज । मधेस आन्दोलन विशाल आवाज बोकेर एकतिर चर्किरहेको छ भने अर्कोतिर एउटा आमाको मनमा अर्कै आन्दोलन चर्किरहेको छ । यो दुई कुरा सँगसँगै सुन्दर तरिकाले प्रस्तुत भएको छ चलचित्रमा । चलचित्रको सबैभन्दा सुन्दर पक्ष यहिनै हो । देशमा भ्रस्ट प्रहरी छन् , बदनियत भएका मानिस पनि छन् , स्वार्थका लागि कुनै पनि हद सम्म गिर्न सक्ने मानिसहरुको संख्या पनि उत्तिकै छ र अन्त्यमा न्याय र सत्यलाई साथ दिनेको एउटा सानो झिल्को पनि यथावतनै छ , जिउँदै छ भन्ने कुरा चलचित्रले देखाउँछ । अनुसन्धान फिल्मको मुख्य विषय हो । कसरी दुई बालकको अपहरणलाई अनुसन्धान गर्ने क्रममा मधेस भित्रको भेदभाव र नियोजित अपराध त्यस अपहरणको प्रमुख कारण भएको कुरा चलचित्रको कथाले खुलाउँदै जान्छ ।
हल बाट निस्कँदा चलचित्रमा न्याय गर्ने प्रहरीलाई अन्त्यमा किन कसैले मारेन भनेर मन विचलित भएको थियो । केहीबेर यही कुरा मनमा खेलाएपछि म कस्तो कस्तो दिक्क भएँ आफैसँग । नकारात्मकताले चेतनामा घर गरेको मानिसले थाहा नै नपाउँदो रहेछ । म पनि त्यस्तै एउटा मानिस भइसकेको रहेछु । हिजो फिल्म हेरेर घर फर्किएसँगै मैले धेरै कुराहरुलाई पुनर्विचार गरिरहेछु अनि जीवनका अनेक कुराहरुलाई सकारात्मक ढङ्गले हेर्न खोजिरहेछु । नेपालमा केही हुन्छ । अझै पनि सम्भावना छ भन्ने अनुभुति लगभग हराइसकेको रहेछ । हिजो देखि आफु भित्रको नकारात्मकता केका कारण आएको रहेछ भनेर घोत्लिँदा एकाध कुरा मेरा चेतनाले खुट्याउन सफल भएका छन् । ती हुन् :
१. मिडियामा भएको नकारात्मकताको बढ्दो बजार र मोबाइलमा देखिइने त्यस्तै समाचारहरु ।मैले हेर्ने च्यानल जस्तै In Depth Story “ यो एउटा उदाहरण मात्र हो” । यस्ता च्यानलले क्लिक बेटका लागि राखेका नकारात्मक शिर्षक र उदासिनता फैलाउने खाल्का समाचारहरु । यदि तपाईहरुलाई मेरो कुरामा विश्वास लाग्दैन भने गएर वहाँहरुको च्यानल हेर्नु होला उहाँहरुको एकदमै कम भिडियोमा मात्र सकारात्मक टाइटल भेट्नु होला । यसमा म पुरै दोष च्यानललाई पनि दिन्न किनकी नकारात्मक टाइटल धेरै हेरिने भएकाले भ्युजका लागि यस्ता कुराहरु भइरहन्छन् । अब एकाध दिन हेर्ने कथा हेरिन्छ ।
२. मानिस भित्रको आक्रोष पोखिने ठाउँ, सामाजिक सञ्जालको नियमित प्रयोगकर्ता भएकाले मुख छाडेको, देशलाई गाली गरेको लगायत विभिन्न नकारात्मक कुराहरु प्रसस्त देख्न सुन्न पाइन्छ । हरेक दिन यस्तै भिडियो र कन्टेन्ट हेर्दा कता कता नकारात्मकताले घर गर्ने रहेछ चेतनामा । जे खायो त्यही निस्किने हो भने जस्तै दिमागलाई जे खुवायो दिमागले त्यस्तै कुरा त बक्ने होला ।
यति भन्दा भन्दै देशमा भएको नकारात्मकता र वेथिति बिरुध आवाज नउठाउनु भन्ने मेरो मत हैन । यसका बारेमा जति बोल्यो त्यती राम्रो हो । चलचित्रमा युटु्यमा भएको प्रधानमन्त्रीको भाषणको सानो अंश राख्दा सेन्सर गरिएको कुरालाई म खुलेर बिरोध गर्छु । तर मेरो या भनौ आम मानिसको दिमाग केवल नकारात्मकता मात्र ग्रहण गर्न बनेको भने हैन । चेतना दुरुष्त र स्वस्थ हुनका निम्ति दुवै कुराको तालमेल , ब्यालेन्स मिल्न आवश्यक छ ।
अन्त्यमा चलचित्र राजागंजले मलाई यी यावत कुराहरु सोच्न बाध्य बनाउनु आफैँमा चलचित्रको जित हो । म सबैलाई एकपटक यो चलचित्र हेर्न अनुरोध गर्छु ।
विजय लुइटेल
Comments
Post a Comment