द सेक्रेट लाइफ अफ वाल्टर मिट्टी नामक एक फिल्म छ । जस्को अन्त्यमा एक फोटोग्राफर हिउँ चितुवाको फोटो खिच्न धेरै दिन देखि एउटा ठाँउमा पर्खिरहेका हुन्छन् । तर जब उनले हिउँ चितुवा देख्छन् उनले फोटो खिच्दैनन् बस त्यो चितुवालाई नाँङ्गो आँखाले हेरिरहन्छन् । त्यस बेला उनलाई फिल्मका पात्रले किन तँ उसको फोटो खिच्दैनस् भनेर सोध्दा फोटोग्राफर ले भन्छन् “Sometimes I don't. If I like a moment, for me, personally, I don't like to have the distraction of the camera. I just want to stay in it.” ( फिल्मको यो सिन हेर्न यहाँ जानुहोला )
मानिस किन यात्रा गर्छन् ? म यस्को उत्तर मेरा कविता , कथा अनि संस्मरणका माध्ययम बाट खोज्ने चेष्टा गरिरहन्छु । मेरा यात्रा सहयात्री प्राय जसो फोटोग्राफर हुने गर्दछन् । उनीहरुको कर्मनै तस्विर खिच्नु हो । त्यसैले गर्दा तिनले पैसो कमाउँछन् । नेपाल एड्थ वन्डर मेडियाबाट यात्रा बृतचित्र बनाउने सिलसिलामा म धेरै ठाउँ घुम्न पुगेँ । टिमका मानिसलाई प्रकृतिको सुन्दरता उठाउनलाई भन्दा पनि त्यसलाई तस्विरमा उतार्न हतारो हुन्थ्यो । मैले यस कुरामा गुनासो गरेको भने हैन । यो त्यो टिमको धर्मै हो । मानिसलाई देशका बिभिन्न ठाँउ देखाउनका लागि उनिहरुले गुमाउने कुरा हो यो । जब मैले केहि महिना अघि दुई बर्ष काम गरेको त्यो टिमलाई छोडेँ । त्यसपछि गरेका यात्रा केहि भिन्न हुन पुगे ।
भिन्न कुन आधारमा भने केवल यात्रा प्राथमिकता हुन्थ्यो । मैले यात्रालाई त्यसक्षण अलिक फरक हिसाबले हेरेँ । एकाएक मनमा एउटा प्रश्न अंकुरायो । यदि क्यामेरा नभएको भए कति मानिस घुम्न आउँथे ? इलाममा दिदिको बिहे हुँदा त्यहाँका पुरेत बाजेले गरेको गुनासो सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो बाबु अचेल त हाम्रो समय अनुसार बिहे चल्दैन । क्यामेरा वालाले जे जे गर्नु भन्छ त्यही पो गर्नु पर्छ । मलाई त्यसबेला हाँसो उठेको थियो उनको कुरा सुनेर अचेल म त्यस कुरालाई लिएर गम्भिर बनिदिन्छु ।
क्यामेरा भन्ने कुरा जीवनका पलहरुलाई कैद गर्न जन्मिएको आविष्कार हो । यसले यस्ता पलहरुलाई झाँगिन दिएर सुटुक्क तिनलाई कैद गर्नु पर्ने हो । तर कुरो के भयो भने । यसले मानिसको व्यवहार निर्धारित गर्न थाल्यो । मानिस घुम्नका लागि नभएर कुनै डाँडामा गएर सुन्दर फोटो निकाल्न मात्र व्यस्त भइदिन्छन् । खाना पाक्यो , कस्तो राम्रो बाफ आयो , यसो स्न्याप पठाउनु पर्यो । स्ट्रिक्स कि कोनी के जाती जिवित रहन्छ । प्लेटमा खाना पस्कियो अथवा रेष्टुरामा खाना आयो , स्न्याप । साथीले चुरोट खायो , स्न्याप ।कसैले गीत गायो , स्न्याप । कसैले गीत गाएको भिडियो कैद गर्नेलाई एक दिन पछि वा केहि छिन पछि अघि गाइएको गीत कुन हो भनेर सोध्नुस त उसले बिर्सिजान्छ । हामी सम्झना कैद गर्नै होडमा लागेर सम्झनालाई सम्झन र आत्मसाथ गर्न भुलिरहेछौँ ।
कहिले काँहि सोच्छु । यो संसारनै यसरी चल्दछ म किन फरक बनुँ । म पनि स्न्याप चलाउँ । जीवनका हरेक कुरालाई मोबाइल अर्थात हाते क्यामराले कैद गरिदिउँ । फेसबुक र इन्सटामा त मैले पनि फोटो राखेर कुनै दिन तमास गरेकै हुँ । तर सोच्छु मैले रेष्टुरेन्टमा खाना आउने बित्तिकै खानाको फोटो खिच्न थालेँ भने मैले वेटरको मिठो मुस्कान हेर्न छुटाउँछु । यात्रामा मैले डुब्दै गरेको घाम खिच्न थाले भनेँ घाम डुबिसक्दा पनि म मोबाइलमानै हराउँछु । साथीले गाउँदै गरेको गीतलाई मोबाइलमा कैद गर्न थालेँ भने म त्यसको मिठो धुनमा रमाउनबाट बन्चित हुन्छु । बाले दशैमा टिका लगाइदिँदा मैले बालाई कैद गरेँ भने आशिर्वादका केहि वाक्य गुमाउँछु । आमाले टाउँकोमा तेल लगाइदिँदा उनलाई कैद गर्न थालेँ भने मैले एउटा जीवन्त अनुभुति गुमाउछु । मलाई थोरै पाएर धेरै कुरा गुमाउने परिस्थितिसँग भय छ । डराउँछु । डरपोक हुँ । कहिलेकाँहि डरले मानिसलाई जीवन दिन्छ भन्ने सुनेको हुँ । म त्यसैमा खुसी छु । म आफुलाई फिल्म मेकर भएको हेर्न चाहन्छु । म क्यामेरा चलाउँदिन भनेर भन्न सक्दिन तर काम र जीवनको भिन्नतालाई सदैव स्मरण गर्नेछु ।
अनि द सेक्रेट लाइफ अफ वाल्टर मिट्टीमा लेखक सिन ओ कोनेल ले लेखेकोझैँ अब I don't like to have the distraction of the camera. I just want to stay in it.”
- विजय लुइटेल
यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ ।
Comments
Post a Comment