Skip to main content

पिके पिक पदयात्रा


Photo : Amir Shrestha @nepal8thwonder

वैशाख २३, २०७९ , बिहान ८ बजे ( भुलभुले , सोलुखुम्बु )

लालीगुराँसको दुनिया भुलभुलेमा आज बिहानै देखि झरी परिरहेको छ । म सुतेको ओछ्यान माथि पानीले एकोहोरो संगीत बर्साइरहेको छ । पानी नपरेको भए यतिबेला म पिके बेस क्याम्प तिर हिँड्दै हुन्थे तर पानीले त्यसो हुन देला जस्तो छैन । यो यात्रामा मलाई नियमित डायरी लेख्न मन थियो । पहिलो दिन गाडीमा ओखलढुङ्गा पुगेर लेख्न सुरु गर्नु पर्ला सोचेको थिएँ । दिन भरि गाडीमा हिँडेकाले ओखलढुङ्गा पुग्न लाग्दा गाडी लाग्यो । ड्राइभर दाजुलाई एक छिन साइड लगाउन भनेर मैले बाटो छेउको कुलोमा दुई पाउ जति छादे । अलिकति सञ्चो त भयो तर ओखलढुङ्गा पुगेर कलम समाउन जगर आएन । रासन ओकलेर फुर्सद नभाको शरीरले किन हो कोनि शब्द ओकल्न मानेन । 


राती ओखलढुङ्गा पुग्दा पार्टीका झंडा बोकेर युवा र बुढा बुढी बाटोमा हिडिरहेका थिए । चुनाव आउँदा नेपालको माहोल सधैं यस्तै हुने गर्दछ । देशको मुहार फेर्छु भनेर हिड्ने ति जस्तै मानिस केही समय पछि देशभर मुहार लुकाउँदै हिँडेको देखिन्छन् । देशको यो चलन बाट म अपरिचित छैन । मलाई त उसै पेट निमोठेर सकस भइरहेको थियो राजनीति सोच्दा झन् छाद आउला जस्तो भयो । त्यसैले आफ्नो झोला बोकेर लागे होटलतर्फ । भोक लागे जस्तो भएको थियो त्यही पनि भात रूचेन । 

बाँयाबाट म , आशिष गुरुङ , सदिस जोशी र हेमन्त भन्डारी Photo : Amir Shrestha

रूचेजती भात हुलेर ओछ्यानमा पल्टिँदा निन्द्रा पर्ला जस्तो लागेको थिएन । मनमा कयौ कुरा थिए लेख्नका लागि तर तिनलाई त्यतै गुम्स्याएर सुत्ने निधो गरेँ । बिहान उठ्दा कयौँ भावना मनभित्रै गुम्सिएर मरेछन् । तिनको निधनले गहिरो चोट दियो मलाई । कहिले कागजको पानामा जन्मिन पाएनन् ति ।  भ्रूण हत्या गरेको गलानिले मलाई बिहानै भरी पोलिरह्यो । 


घाम उदाएपछि भने गलानिलाई अंगालेर बसिरहन सकिन । भुलभुले सम्म पुग्नु थियो । उठेर ग्यास्ट्रिक को एउटा गोली निलेर फेरी गाडीमा बसेँ । अनि नेपाल ८ वन्डर को ५ जनाको टोली हामी हेमन्त दाई , अमीर , आशिष, सदिश र म भुलभुले तर्फ लाग्यौं । 

 

सगरमाथा को जिल्ला सोलुखुम्बु सुरु हुँदा मलाई किन को आफ्नै गाउँ इलाम पुगेजस्तो भयो । हुस्सेले डम्म ढाकेको साँघुरो बाटो । बाटोमा फैलिएकोको ओसको अनौठो गन्द । त्यो देख्दा मेरो मूलघरको धारोमा एकनासले खसिरहेको पानीको आवाज मेरो कानमा गुन्जिरहेको थियो । थाहा छैन किन तर हुससेले भरिएको पहाडको घुमौरो बाटो हिँड्दा मलाई मुल घर अनि त्यहाँको सेरोफेरो याद आउँछ । सायद यो जिन्दगीभर नै एउटा रहस्य बनेर रहिरहनेछ म भित्र । 


भुलभुलेमा फुलेको लालीगुराँस Photo : Amir Shrestha 

धाप पुग्दा पहाडको सानो गाउँ देखिन्छ । धाप गाउँबाट सिँगाने हुँदै, बाटो भुलभुले पुग्छ । सिँगाने पुगेर हामी चाउचाउ खान केही बेर रोकियौं । हामीले ल्याएको गाडी भुलभुले सम्मै पुर्याउने योजना थियो तर एक दुई दिन देखि लगातार परेको पानीले गाडी लैजान असम्भव भयो । भाग्यवश सिँगानेमा बालुवा बोक्ने ट्याक्टर भेटियो । तिर्पाल ओछ्याएर हामी हाम्रा झोला र आफूलाई डालामा खादेर भुलभुले तर्फ अघि बढ्यौं । तीन घण्टा कच्ची बाटो ट्याक्टरमा यात्रा गर्दा चाकको मासु मरिसकेको थियो । सोचे भोलि हिड्ने बेलामा चाकले गुनासो गर्नेछ । साँझको गुलाबी रंगमा भुलभुले निकै मनमोहक देखिएको थियो । रातो सेतो अनि बैजनी रंग का गुराँसले रंगिएको त्यो भूगोल माथि बादलका टुक्रा छोइडुम खेलिरहेका थिए । साँझको लाली रंग तिनै बादलका टुक्रा हरुलाई रंगाउन व्यस्त थिए । हरियो फाँट जमिनमा लम्पसार सुतिरहेका थियो । हिमाल नदेखिए पनि हिमालको चिसो हावा आफूमा बोकेर बतास बहिरहेको थियो । 

 

भुलभुले होटल पुगेर झोला कोठामा हुल्दा अघिल्लो दिन लेख्न नपाएको गुनासो फेरि बल्झिएर आयो । तर किन हो मैले लेख्न सकिन । डायरी पनि थियो कलम पनि थियो अघिल्लो दिन जस्तो थाकेको शरीर पनि थिएन । मनमा कतै कसिलो गाँठो थियो सायद खुल्न मानेन । मनमा अनेक कुरा लिएर म हिजो पनि असन्तुष्ट सुते ।

 

बिहान पानीको एकोहोरो दर्काईले बोलाए पछि मेरा आँखा खुले । बाहिर निस्कँदा मौसम धुम्म थियो । लालीगुराँस त्यो धुम्म कुहिरो बाट पनि मलाई चियाइरहेका थिए । किन किन त्यो धुम्म मौसममा मलाई आफू हराएझैं लाग्यो । एक पल आफूलाई दिशाहिन अनुभव गरेँ । 

 

यात्रामा अघि बढ्नका लागि दिशा चाहिएझैं जीवनलाई पनि अघि बढ्न दिशा चाहिन्छ कि चाईदैन होला भनेर आफैलाई प्रश्न गरेँ । उत्तर म सँग छैन । दिशाहिन हुनु पनि कुनै दिशामा हुनु हो जस्तो लाग्यो मलाई । 

 

कहिले रहने कहिले छिट्याउने गरेर पानी हामीलाई हिँड्न नदिने सुर गर्दै छ । यसो आकाश हेर्दा पानी रोकिने कुनै छाँटकाट छैन । पिके पीक पुगेर भिडियो खिच्न भनेर हिँडेका हामी जाने की नजाने भनेर सल्ला गरिरहेका छौ । सायद भिज्दै भए पनि पदयात्रामा निस्कन्छौँ होला । 


Photo : Amir Shrestha

 वैशाख २३, २०७९ , साँझ ४:३० बजे ( तुङ्ग्ना बाजे होटल पिके बेस क्याम्प )


भिज्दै भिज्दै भएपनि हामीले पिके वेस क्याम्प जाने निधो गर्यौ । लालीगुराँसको भूगोललाई अघिल्लो दिनझै हुस्सेले डम्म ढाकेकै थियो । एक घण्टा जति हिँडेर लमुझे आइपुग्दा पानीको अलि अलि कुटिसकेको थियो । लमुझेमा विश्राम गरेका बेला पनि केही लेखौला सोचेको थिएँ तर ठिर्याएको हातले न टाइप गर्न नैं सक्यो न कलम समाएर कागजमा कोर्न नै । रेनकोट घुँडा सम्म मात्र आउने भएकाले घुँडा भन्दा तल लुगा भिजेको थियो । लमुजेमा होटलको चुलो छेउ बस्दा घुँडा बाट पानीको बाफ उडीरहेको थियो । केही बेर म त्यसमा टोलाए । बाफ घुँडाबाट उडेर अलिकति माथि सम्म आउँथ्यो अनि कतै बिलाउँथ्यो । मलाई त्यो बाफ बिलाउँदा जीवनबाट हराएको एउटा अमूल्य कुरा याद आयो । मेरो आयु । मेरो जीवनको २५ बर्ष ति बाफझैँ कतै हराएका छन् । सुरुका केही वर्ष आमाको काखमा हराए , केही वर्ष बाबाको औंला समाएर हराए , केही वर्ष भाँडाकुटी खेलेर हराए , केही वर्ष दादा सँग मिल्दै र जुध्दै हराए । केही वर्ष स्कूलको किताबमा हराए , केही वर्ष प्रियसीको अँगालोमा हराए , केही वर्ष उदेश्यको खोजीमा हराए । सोचेँ केही अझै हराउँदैछन् । यहाँ लमुझेमा पनि केही त पक्कै हराउँदै छ । तर के हो त्यो सोच्न चेतनाले दिएन । यस्तै यस्ता अनगिन्ती कुराहरूमा हराए मेरो उमेरका २५ वर्षहरु । बाफ उडीनै रहेको थियो मेरो ट्राउजरबाट । लाग्यो मान्छे पनि त्यही ट्राउजर जस्तै छ जो हरेक पल आफूबाट उमेरका बाफ उडाउँदै हिँडी रहन्छ । 

Photo : Amir Shrestha

लमुझेमा अलिकति शरीर ओभाए पछि चौरी गाईको दुधबाट बनेको बाक्लो चिया खाएर हामी अघि बढ्यौं । उसै धुम्म उदास दिन अनि बेला बेला आकाशबाट बर्षिरहेको पानीले हिड्नलाई सकस बनाइरहेको थियो । अझै नयाँ जुत्ता भएकाले मलाई हिँड्न अफ्ठ्यारो भइरहेको थियो । नयाँ जुत्ता ल्याउँदा सधैं एक दुई दिन त्यस्तै हुने गर्छ । के नमिलेको कता नमिलेको जस्तो । नयाँ सम्बन्धलाई सहज हुन समय लागेझैँ खुट्टा र जुत्ता पनि सम्बन्ध बनाउन दिनभर वार्ता गरिरहे । दुई बजे तुङना बाजेको होटल आइपुग्दा भने बल्ल उनीहरूको सम्बन्ध सुमधुर बन्यो । बिहानको खाना साढे दुईमा खाएर अहिले म ओछ्यानमा डल्लो परेको छु । हातका औंलामा ओछ्यानको तातो समाएकाले मेरो इशारामा चल्न बल्ल मंजूर गरेका छन् । टाढा छु घर बाट तर यहाँ पनि घरझैँ लागिरहेछ । पदयात्रामा निस्कँदा संसारै मेरो घरझै लाग्छ मलाई । त्यसैले मौका मिल्दा झोला झ्याम्टा बोकेर नयाँ अस्थायी घरको खोजीमा निस्किदिउ झै लाग्छ ।


सोच्छु मलाई कोही मानिसले यो यहाँ नआईदियोस् भन्लान् , साथीभाइले दूरी बनाओस सोच्लान् , तर आज सम्म मैले टेकेका कुनै पनि जमिनले मलाई नटेक भनेका छैनन् । मलाई पनि जीवनमा मैले टेकेको माटोझै हुनु छ । जो आफ्नो र अरूको भन्दैन , यो यस्तो त्यो त्यस्तो भन्दैन । जो केवल स्वीकार्छ आफूमा पाइला राख्ने जो कोहीको अस्तित्व । मलाई पनि मेरो जीवनमा जोडिन आउने जीवनलाई केवल जीवन को रूपमा हेर्नु छ । थाहा छैन कति सक्षम हुन्छु जे होस् प्रयास गर्नु छ । 

साँझ को ५ : ४१ भइ सकेछ । तल्लो तलामा टुङना बाजेले तुङ्ना बजाएर सुनाउँछु भन्नु भएको छ । अब कलमलाई एकछिन विश्राम दिएर अनुभवलाई पनि समय दिनु पर्ला । 


वैशाख २४, २०७९ , ७:१९ बेलुका ( भुलभुले )


हिजो राती तुङ्ग्ना बाजे को गीत सुन्दै केही बेर रमाइलो गरियो । उमेरले ७० पुग्न आँटेका तुङ्ग्ना बाजे उर्फ जाङमु शेर्पा त्यो उमेरमा पनि निकै फरासिलो हुनुहुँदो रहेछ । तुङ्ग्नाको मिठो धुन सुनेर सुत्न कोठामा जाँदा मेरो कानमा अझै तुङ्ग्ना बाजेले बजाएको धुन गुन्जिरहेको थियो । दिनभरिको थकानले शरीर गलेको थियो, भसुक्कै निदाएछु । 

एका बिहानै उठेर पिके पीक जाने योजना थियो तर मौसम धुम्मिएकाले हामी ८ बजे मात्र पिके पीक तर्फ लाग्यौ । मौसम यति धुमिएको थियो कि केही पाइला अघि हिँडेका साथी पनि देखिएका थिएनन् । पञ्जा ल्याउन बिर्सिएका मेरो हात चिसो ले कठ्याङरिएको थियो । एक हातमा ट्रेकिङ स्टिक अनि अर्को हातमा देशको झण्डा बोकेर म उकालो लागिरहेको थिए । 

तुङ्ग्ना बाजे Photo : Amir Shrestha

हातमा फर्फराइरहेको त्यो झण्डा देख्दा मलाई देशले रगत मागे गीत सम्झना आइरहेको थियो । मैले सम्झे यो एउटा झण्डा सदैव लहराइरहोस् भनेर कयौ मानिसले आफ्नो जीवन देशलाई सुम्पेका छन् । उनीहरूले देको बलिदान केवल यो झण्डाका लागि मात्र नभएर पूरै देशको लागि हो तर झण्डा एउटा त्यस्तो भावना हो जसले तिनको बलिदानलाई पहिरेर हिँड्दछ । मलाई थाहा छैन किन हो झण्डा बोक्दा सधैं मैले देश हातमा बोकेर हिँडेको अनुभव हुन्छ । त्यसैले झण्डा हात बाट छुटेर नलडोस् भनेर मैले यात्रा भरिनै त्यसलाई जतन साथ बोकेँ । कसैले यही झण्डाका लागि आफ्नो प्राण अर्पण गर्न सक्छन् भने म त्यसलाई जतन पनि गर्न सक्दिन र ? यही प्रश्न मैले आफैलाई यात्राभर सोधिरहेँ । आफैले कुनैदिन लेखेको झण्डाको कविता पनि सम्झनामा आयो । 


मेरो झन्डा


                    बलैले हो भने, म सक्दिन मेरो झन्डा बोक्छ
                        झन्डाले त आफै, राष्ट्र बोकी हिड्छ

 

म खोजौँ पनि किन अब बोक्न उसलाई

उसले त हरपल मेरो अभिमान बोकी हिड्छ

 

आफनै पहिचान हातमा बोकी कहाँ जान सक्छु र म ?

झण्डा हातमा हुँदा त, गन्तव्य पनि मेरो हातैमा हुन्छ .....


( कविता बाचन सुन्नका लागि यस लिङ्कमा जानुहोला : https://www.youtube.com/watch?v=jLRlyO7VtzM )


पिके पीक पुग्दा पनि मौसम उग्रेन । सगरमाथा र ल्होत्से जस्ता अग्ला अग्ला हिमालको दृष्यावलोकन गर्न मिल्ने त्यस ठाउँबाट हामीले केवल सेताम्मे हुस्से देख्यौ । यो हुस्से यदि चिरेर हेर्ने हो भने संसारका अग्ला अग्ला हिमाल मलाई दृष्टिर्गोचर हुन्छन् , म त्यस्तो सुन्दर ठाउँमा छु भनेर मनलाई मनाउने बाहेक केही विकल्प थिएन हामी सँग। 

 

यात्रा, गन्तव्य प्रति लक्षित भए पनि यात्राको वास्तविक मज्जा भने गन्तव्यमा निहित हुँदैन । यात्रा को वास्तविक मज्जा त यात्रामै हुन्छ । मैले पनि काठमाडौंबाट हेर्छु भनेर आएको दृश्य नदेखे पनि नसोचेका अनेक दृश्य देखें । लालीगुराँसले ढाकेको पहाडहरू देखें । हुस्सेले धमील्याएको मौसममा एउटा पारदर्शी उज्यालो देखें । हराउँदै देखिदै गर्ने बादलका टुक्राहरुको अथक चञ्चलता देखें । जे हेर्न आएको त्यो हेर्न नपाए पनि मैले सोच्दै नसोचेका अनेक कुराहरू देखें । हेर्नु र देख्नुको अर्थ एउटै जस्तो लागे पनि तिनको अर्थमा आकाश पातालको फरक छ । मैले यसपाली त्यही अर्थ स्पस्ट देखें ।

 

दिनभरि हिँडेर फेरि साँझमा भुलभुले आइपुगेको छु । सायद म भोलिबाट यो यात्रा बारे लेख लेख्दिन पनि होला । यात्रा डायरी यहिबाट अन्त्य गर्दैछु । लेख्नका लागि त भोलि पनि अनेक कुरा भेटिएलान तर मलाई अब थप केही लेखौँझै लागेको छैन । यो यात्रामा आफ्ना भावनाहरुसँग गरेको गफलाई अक्षरमा उतार्न ठूलो रहर थियो । त्यो कति सम्भव भयो म जान्दिन । तर आफैसँग अलिक नजिक भएको छु जस्तो आभाष हुन्छ । मनमा आइरहने अनेक कुरासँग समय लगाएर शान्ति साथ कुरा गर्ने मौका मिलाइदिने यो यात्रा आजीवन याद रहनेछ । 

Photo : Amir Shrestha

पानीले कुटिएर दिनभर हिँड्नु, थाक्नु अनि फेरि हिँड्नु मेरो दुई दिनको दैनिकी हुँदा म कहाँ थिएँ मैले थाहा पाइन । म भन्ने व्यक्ति त यहाँको सुन्दरतामा कतै हराएको थियो । भेटिनका लागि हराउन जरुरी छ किनकी नहराइ केहि कुरा भेटिँदैन र नहराएको कुरालाई भेट्नुको कुनै अर्थ पनि छैन । पदयात्रा निस्कँदा म सधैजसो हराउदै भेटिने गर्छु । अचम्म के छ भने म जे हराएको हुन्छु त्यही म कहिल्यै भेटिन्न । पदयात्रासँग दिनलाई अथाह कुरा भएझै चोर्नका लागि पनि अनेक कुरा हुँदा रहेछन् । पुरानो म चोरेर नयाँ म मलाईनै उपहार दिने पदयात्रा मेरो सबैभन्दा निकटको साथी हो । उसैले गरेर मैले आफुलाई चिनेको हुँ , देशलाई चिनेको हुँ । यो यात्रा त्यसैले उसैलाई ( पदयात्रालाई ) समर्पित गर्दछु  ।

 

रातमा तारा हेर्न सारै मन लागेको छ तर बाहिर हुस्सेले गर्दा तारा देखिने कुनै छाँटकाँट छैन । तारा नदेखिए पनि अन्धकारलाई एकछिन हेर्न पर्ला सोचिरहेको छु । भन्छन् अन्धकारले पनि कहिले काँही उज्यालो दिन्छ अरे । हेरौ के दिँदो रहेछ मलाई अन्धकारले ।


  -    बिजय लुइटेल

( Pikey Peak )पिके पिकको बारेमा थप कुरा बुझ्न तलको भिडियो लिङ्कमा जानुहोला 

https://www.youtube.com/watch?v=VsoJBO00pfI

Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ