Photo by: Abhiram Prakash, from Pexels |
उठेर बाहिर हेरेँ पुरै अन्धकार थियो, सोचेँ आाा के जानु यस्तो चिसोमा मनीङ्ग वक, बरू सिरक ओढेर सुत्छु, तातो त हुन्छ । तैपनि कसो कसो मनलाई मनाए अनि निस्के बाहिर । बाहिर निकै चिसो थियो केही बेर हिडे पछि बल्ल शरीरले तातो चाल पायो अनि मैले पनि चाल पाएँ कि म त आज घाम भन्दा चाँडो उठेछु । यो एउटा भावना जब मनमा उत्पन्न भयो तब मानौ मेरो हेराइमा यस्तो परिवर्तन आयो कि म सबै कुरालाई फरक ढङ्गबाट हेर्न थाले । लाखौ बर्ष देखी त्यो आकाशमा सधै उदाउने घामलाई जितेको किन महसुस भइरहेको थियो थाहा छैन मलाई, बस यती थाहा छ मैले आज घामले देख्न नपाएको धेरै कुरा देखेँ ।
मैले देखेँ कलेज जाने युवा युवतीका मुहारमा नाचेको अर्धनिद्रा मिश्रित हाँसो, त्यही देखेर होला, मेरा कलेजका दिनका सम्झनाहरू एकाकए कतैबाट आए अनि मेरो काधमा तप्थपाएर गए । त्यहाँ बाट केही पर पुगेपछि देखेँ एउटा मधुरो बत्ती, बत्ती मुनि बलिरहेको मधुरै ग्यास चुलो अनि त्यही चुलो माथी उडीरहेको चियाको बाफ , त्यही छेउमा बसेर मुखबाट बाफ उडाइरहेका दुई थान मान्छे , सोचेँ घामले आज त्यो बाफमा उडेका चिया पसलेको रहर देखेन , देखेन चिया खाँदै पत्रिकाका मुखमा बाफ फ्याकी रहेको मान्छेको बढ्दै गरेको ज्ञानलाई , घामले त अब बस देख्नेछ त्यो ज्ञान कतै दिनको उज्यालोमा ब्यक्त भइरहेको, या कुनै बहसमा कराइरहेको , कतै न कतै त पक्कै देख्नेछ ।
केही पर एउटा गोलाइमा देखेँ एक अधबैसे जोडी जो स्वस्थ हुन भनी एकअर्कालाई साथ दिइरहेका थिए । घामले आज उनीहरूको एउटै तालमा चलिरहेको गोडा देखेन तर सायद देख्नेछ जिबीकोपार्जनका लागि केही घण्टामा फरक फरक दिशा हिड्ने तिनै गोडालाई । मनमा लागिरह्यो सबै थोक देखेर पनि कति थोक देख्दैन घामले र कति थोक नदेखेरै पनि देख्छ ।
केही पर बस बिसौनीमा, चिसोले लगभग जमेका हातले बसको भित्तामा हिर्काइरहेको खलासीको हात पनि त देखेन घामले, अनि बाहिर हेर्न भनि बसबाट कसैले झ्याल पुसेको पनि देखेन घामले । अचम्म लाग्यो एक दिन चाँडो उठेर पनि मान्छेले आफैलाई यती भाग्यमानी ठान्न सक्ने रहेछ भनेर ।
बस बिसौनी पछि छोडेर केही पर सम्म सबै थोक देख्दै बिस्तारै कुदेँ , बाटो पीच हुने भएर सबै ग्राभल गरिएको थियो । गाडी बेला बेला छेउबाट जाँदा धूलो पनि उडीरहेको थियो । आफुलाई घाम भन्दा भाग्यमानी मान्दै कुदीरहेको थिएँ, बाटोको बिचमा पुगेर एकाएक मेरा कदम रोकिए । सबै कुरा देखिरहँदा एउटा कुरा भने आज देखिन, देखिन मैले एउटा थोत्रो पाटीको बस्ने काठमा निदाइरहने सीतका थोपाहरू , झिँगटीका चेपबाट चियाइरहेका साना घासहरूलाई अनि देखिन पाटी पछाडी एक्लै निस्ताइरहेको ढुङ्गे धारालाई । समय एकाएक अचल भएझै अनुभव भयो ।
ओइ, एकछिन पख न दुई मिनेट बसेर जाउँ, कालो पाइपको रिङ कुदाइरहेको साजनले पाटी अगाडि रोकिएर भन्यो र बस्यो पाटीको काठमा
यस्तोमा बस्नु हुन्न आमाले भन्नुभएको , यस्तो ठाँउमा राती भूत आउँछ रे , सुमनले साजनलाई हेरेर भन्यो
आइज बस केही हुन्न राती पो आउँछ त भूत, अहिले त दिउँसो हो नि, यस्तो घाम लागिरहेको छ, । साजनले आइजको भावमा हात हल्लाउँदै भन्यो ।
थोरै डराए डराएजस्तो गरेर बस्यो सुमन पनि त्यहाँ पाटीमा । घाम चर्को लागेको थियो दुबै तिर्खाएका थिए, त्यतीकैमा साजन बिस्तारै उठ्यो अनि पाटीको पछाडि धारोमा गएर मुखनै छुवाएर आफ्नो प्यास मेट्यो ।
ओइ, तिर्खा लागेको भए तँ पनि खा आइज पानी , पाटीमा बसेको सुमनलाई बोलाउँदै भन्यो साजनले
नाइ पर्दैन तिर्खा लागेको छैन । मुख सुके पनि मन डराएकाले सुमनले पानी पिउँने आँट गरेन
चिसो मुख लिएर आउँदै गर्दा भन्यो साजनले , तेरो आमाले तलाई ढाट्नुभएछ नि सुमन
किन? अचम्म मान्दै सुमनले भन्यो
खोइ मेरी आमाले त मलाई पाटीरूमा भग्वान बस्छन् भन्न्भएको थियो अनि तँलाइ तेरो आमाले भूत बस्छन् भन्नुभएछ ।
होइन तेरो आमाले तँलाई ढाट्नुभएको हो , पाटीमा भूतनै बस्छन् , रिसाएझैँ गरेर भन्यो सुमनले
घर गएर आमाहरूलाई सोध्नु पर्छ है , के बस्छ पाटीमा भनेर, हिड्ँ अब जाउँ, को पहिला पुग्छ हेरौ है त घर ? हौसीदै भन्यो साजनले
तिर्खाले हारिसकेको सुमन बिस्तारै उठ्यो र साजनको पछि पछि रिङ कुदाउँदै हिड्यो , सोचिरह्यो के मलाई आमाले ढाट्नुभएकै हो त ?
सायद थाकेछु क्यारे , नकुदेको धेरै भएर होला । प्यास लागेझै भयो , मुख पनि सुकेर आयो । माटै माटोले भरिएको त्यो ठाँउलाई हेर्दै बिस्तारै अगाडि बढे , केही बेर बल गरेर कुदे , अनि अझ थाकेपछि बिस्तारै बिस्तारै हिड्दै घर आएँ । थाके पनि कुद्न गएपछि एक्छिन कुद्न त पर्यो नै ।
अहिले घरमा आएर बसीरहेको छु , आँफैलाई प्रश्न सोधीरहेको छु । सधै जसो त्यो बाटो हिड्दा पनि किन मैले त्यो पाटी हराएको देखिन ? के मान्छे पनि घाम जस्तै सबै थोक देखेर पनि कति थोक देख्दैन र कति थोक नदेखेरै पनि धेरै थोक देख्छ
? पर्खीरहेको छु घाम उदाओस भनेर, घामलाई पनि एकपल्ट सोध्नु छ कहिले हरायो त्यो पाटी भनेर ? अनि अर्कौ कुरा पनि सोध्न छ घामलाई , के त्यो दिन साजन र सुमनले आफ्ना आमालाई पाटीका बारेमा सोधे या सोध्दा रात परेको थियो र घामले केही थाहै पाएन ? तर जे होस आज उठ्नमा म घामभन्दा छिटो भएँ ।
- बिजय लुईटेल
Comments
Post a Comment