बोसन डाँडा, जुनेली रात छ , निभ्न लागेको आगोमा अलि अलि रातोपना बाँकीनै छ, एकछिन अगाडि पोलेको मासुको बास्ना थोरै चाल पाउदै छ नाकले , छेउको पोलबत्ती धीप धीप गर्दैै आफ्नो धर्म निभाउदैछ , तल गहिरोमा बलेको बत्तीले टौदह त्यहाँ छ भन्ने जनाउ दिदैछ , चिसो हावा चलीरहेको छ , म एउटा मेचमा बसेर हेर्दैछु अन्धकार तिर, हातमा एउटा गिलास छ मदिराको, काखमा एउटा खाली डायरी छ अनि ज्याकेटको गोजीमा एउटा कालो पाइलट पेन अनि क्वाटर मदिराको सिसि । साथीहरु कोठामा गइसकेका छन्, किरा कराएको पनि स्प्रष्ट सुनिने सन्नाटा छ, ।
मलाई कुनै अपरिचित आवाज दिन्छ , के हो साथीको ब्रेकअप भयो कि के हो ? एक्लै बसेको छौ त रमाइलो गर्न आएको मान्छे । मैले केही बोल्न नपाउदै ऊ मेरो छेउमा आएर बस्छ अनि मलाई फेरी सोध्छ साथी सँग लाइटर होला ? बोल्नै कर लागेपछि मैले भने म चुरोट पिउँदिन । ऊ उठेर आगो छेउ जान्छ, एउटा निभ्न लागेको दाउरामा चुरोट सल्काउँछ अनि मेरै छेउ आएर बस्छ, उसको हातमा पनि म एक गिलास मदिरा देख्छु । साथीलाई डिसटर्ब त भएको छैन नि म आएर ? फेरी कुरा गर्न बाध्य भएर मुस्काउँदै भनेँ, छैन । ऊ एकछिन टौदह हेर्दै टोलायो, मलाई ऊ केही अनौठो लागिरहेको थियो, डायरीको सितन पो होला जस्तो लागेर सोधेँ तिमीचाँही किन एक्लै नि यहाँ, ब्रेकअप भएरै हो ? एक पल्ट मलाई अनौठो मानेर हेर्छ अनि भन्छ के लाग्छ तिमीलाई ? मैले भने के थाहा हुन्छ र मान्छे हेरेर, मुस्कानको मुकुट लाएर हिड्नेको के कमी छ र यहाँ । ऊ मेरो उत्तरलाई हाँसोमा उडाउँछ अनि एक घुटको मदिरा पिएर भन्छ ब्रेकअपै त नभनौँ कोही भएर पनि नभए जस्तो भएको छ । मैले भनेँ, भनेपछि तिमी यहाँ कसैलाई बिर्सन आएका ? उसले भन्यो हैन म कसैलाई सम्झन आएको बिर्सने जिम्मा त उसलाई दिएको छु मैले ।
अच्चम्मै छ बा कहिले नचिनेको मान्छेलाई कसरी यस्ता कुरा भन्न सक्छ मान्छेले, म अलमलमा परेँ, लाग्यो सायद मातेको छ होला । उसले गोजीबाट मदिरा निकाल्यो अनि भन्यो साथीको सकिएछ थपौ न अलिकति, मैले हुन्छ भने अनि गिलास अघि बढाए । मैले भने, तिम्रो कथा सारै चाखलाग्दो रहेछ सुनाउन मिल्छ भने सुनाउ न । मैले लगतै सोधेँ तिमी भक्तपुर तिरै बस्छौ कि के हो ? कहाँ देखे देखे जस्तो लागिरहेको छ । उसले भन्यो कथा त बन्नै पाएको थिएन आधा अधुरै सुनाउँ ? मैले एक पटक उसलाई हेरेँ केही निरास देखिन्थ्यो रोला रोला जस्तो, अनि अधुरै कथा सुनाउन आग्रह गरेँ ।
उसले फेरी एक घुट्को मदिरा लियो अनि भन्यो प्रेम अजीब हुँदो रैछ साथी के भनौँ म तिमीलाई, कोही हेरिरहेको होला आफु माथीको आकाश मलाई सम्झेर मुस्काउँदै या छैन उसको स्मृतिमा मेरा प्रेमका शेषहरु, म भने यहाँ यो उज्यालो चन्द्रमासँग उसको गुण गाइरहेको छु । समय यसै खोलो जस्तो बग्दो रहेछ, कुनै दिन प्रेमको बाढी बोकेर आएको थियो, मलाई बगाई लग्यो कुनै स्वप्नलोकमा, म रमाइरहेको थिए तर खोलो सुक्यो, अनि मैले आफुलाई रिक्तो बगरमा पाए । उसले के भन्न खोजिरहेको छ भन्ने बुझ्नै सकिरहेको थिइन , त्यै पनि ऊ भन्दै गयो ।
सपना ठूलो थियो सायद मेरो, त्यो सपनाको संसारमा यथार्थले ठाँउ ओगट्न सकेन , मेरा सपना सपनामै सिमित भए , म उसको जीवनको पातमा अडिएको सितको थोपा थिए एक झोका हावाले मेरो अस्तिित्व मेटाएर लग्यो । म सँग धेरै यादहरु छैन कि म तिमीलाई सुनाउन सकूँ या जसको सम्झनामा म जीवन काट्न सकूँ, मलाई केवल गुनासो छ मैले नबनाएका यादहरु प्रति , यदि ति सपना जो मैले सजाएको थिए हाम्रो निम्ति, त्यो मैले ऊ सँग साटेको भए अहिले मसँग तिमीलाई सुनाउन कथाहरु हुन्थेँ मैले उसलाई बाढ्न नसकेको समयको खिन्नताको साटो ।
एउटा अर्को घुट्को पिएपछि उसले भन्यो मलाई चाह छ उसको केसलाई छोएर जाँदा हाँवाले निकाल्ने सुसेली सुन्ने , चाह छ उसका भावनालाई छोएर तिनमा आफ्नो छाप छोड्ने । चाह छ उसको ढुकढुकीमा पसेर उसको ढडकनमा मेरो नारा लाउने । चाह छ मलाई उसको मुस्कानको अंश ममा कैद गर्ने , उसको मुस्कानको कारण बन्ने , चाहनै चाहनाले पिरोल्छ मलाई ।
मैले उसलाई एकपटक फेरी हेरेँ , केही भन्न आएन मलाई उसले आफैँ भन्न थाल्यो साथी, कोही बेला लाग्छ उसको मनमा लागेको मेरो प्रेमको कोपिला अझै बचाएकी छे उसले, त्यो फुल्न खोज्दैछ उसलाई सजाउनलाई अनि कोही बेला लाग्छ मेरा यादहरुलाई बगाइ सकि उसले मनको खोलामा अस्तुझै, यस्तै अलमलको टाँकमा अडिएको छ मेरो प्रेमको बस्त्र, अलमललेनै भनौँ जोगाएको छ इज्जत प्रेमको, साथी के भनौँ प्रेमले मन पीडा भोग्न सक्ने पनि बन्दो रहेछ अनि सानो सानो कुरामा चरक्क चर्कने पनि ।
मैले प्रेमलाई त्यसै चल्न दिनु पर्ने थियो प्रेमलाई बुट्टा हाल्ने हुँदा मैले त्यसको रुपरङ्गै बिगारेछु । भन्छन् मान्छे जन्मेर आउँदा सबै लेखेर आउँछ, म पनि सायद उसलाई मेरो भागमा लेखेर आएको थिइन । एक पटकको भेट, त्यो आँखाको जादु ,बेचैनी , आकर्षण, यतिनै थियो होला लेखेको । प्रयास नगरेको होइन त्यसलाई मेट्न तर प्रयासको कलमले मेरो भविष्यको पानामा उसको नाम लेख्न सकेन । मलाई डर लाग्छ साथी कतै यी पल हरु पनि कतै बिर्सन त लेखिएको छैन । मेरा चाहनाहरु पनि जीवनको कुनै पृष्ठमा पुुगेर बिलाउने पो हुन कि, डर लाग्छ कतै उसलाई बिर्सेर म ऊ जस्तै त हुने हैन । साथ जिउन नलेखेको भए पनि यती लेखियोस मेरो भाग्यमा कि मेरो लासबाट उडेका खरानीमा मेरा मलामी उनको आकृति देख्न सकुन , बाँचुन्जेल म भित्र उनी बाँचिरहुन, म चाँहेर पनि उसलाई बिर्सन नसकू । मलाई त रुन पनि डर लाग्छ साथी, लाग्छ मेरो आँखामा बसेको उसको तस्विर बगेर जान्छ, प्रेम सायद यस्तै हुन्छ आँसुको पनि माया लाग्ने ।
भाग्य लेख्ने को हो त्यो त मलाई थाहा छैन तर आज म यहाँ बसेर तिमीलाई केही भनिरहँदा भाग्य लेख्नेको मन अवश्य रोएको हुनुपर्छ । मैले तिमीलाई सबै कुरा भनेर आज उसको र मेरो याद जोगाएको छु ,मेरो त भाग्यबाट बिश्वास उडिसक्यो के थाहा भोली भाग्यले उसलाई बिर्साइदिने पो हो कि । मलाई बिश्वास छ तिमीले मेरो कहानी लेख्नेछौ, लेख्नेछौ भाग्य खलनायक भएको कथा अनि कुनै दिन म त्यो पाना पल्टाएर भाग्यलाई घृणा गर्न सक्नेछु ।
मैले उसलाई अच्चम्म मानेर केही बेर हेरेँ अनि सोधेँ तिमी कसरी भन्न सक्छौ मैले तिम्रो कथा लेख्छु भनेर ? उसले थोरै हाँसेर भन्यो तिमी लेख्छौ । म मौन भए । उसले बाँकी भएको मदिरा रित्यायो अनि भन्यो ल साथी अब म लाग्छु जाँडले छोडेर कसैले मलाई खोज्यो अनि भेटेन भने बौलाउँछ म गए । उसले निभाएको चुरोटको ठुटो आगोमा फ्याँकिदियो अनि केही नभनी लाग्यो सुत्ने कोठा भए तिर । मैले आवाज दिए साथी नाम त भनेर जाँउ, तर नसुनेझै गरी मेरो आँखाबाट ओजेल भयो । मैले मेरो गिलास हेरेँ खाली भइसकेछ अनि कोठा तिर जानलाई उठेँ, उठ्दा डायरी भुईँमा खस्यो, डायरीमा काला अक्षर नाचिरहेका थिए , मैले डायरी उठाँएर हेरेँ तल लेखको अन्तिममा मसी सकिएर कोरिएको रहेछ , कलम झिक्न गोजीमा हात हाले, एउटा खाली सिसि भेटाए कलम थिएन, खादै नखार्इृ कसरी सकियो भनेर एक छिन बौलाए अनि मदिरालार्इृ दोष दिएर कोठा तिर लागेँ । बाटोमा कलम आगोले पग्लिएको देखे, फेरी मदिरालाई दोष दिए अनि सुत्नु अघि फ्रेस हुन लागेँ शौचालय तिर, ढोका अगाडि ऐना रहेछ, हेरेँ आफुलाई, भक्तपुर तिर कतै देखेझै लाग्यो ।।
- बिजय लुईटेल
Comments
Post a Comment