आकाशकाे विराटता भित्र

 


आकाशकाे विराटता भित्र उडिरहेको थियो बुद्ध एयरको एउटा सानो एटआर जहाज । दक्षिणमा जहाजको समानान्तर भएर विशाल हिमशृङ्खला पछ्याइरहेको थियो जहाजलाई । अनि जहाज भित्र एउटा मन , जो भर्खर धनगढीमा साथीको विवाह भ्याएर काठमाडौँ फर्किरहेको थियो , विमानको अघिल्लो सिटमा रुमीको किताब बोकेर घोरिइरहेको थियो । हुन सक्छ कविता भित्र जीवन खोजिरहेको थियो । तर त्यसै बेला उसको चेतनाले यो पिन भन्दै थियो कि , कतै म किताब पढेर यथार्थबाट भाग्न त खोजिरहेको छैन ? जीवनसँग सहभागी हुनुको साटो कतै त्यस जिम्मेवारीबाट आफूलाई वञ्चित पो गरिरहेको छैन ? त्यति हुँदा हुँदै पनि जीवनलाई जीवन्त बनाउने कति कुरा रुमीका वाणीमा भेटिएलान् कि भन्ने झिनो आस थिँदै थियौ । 

उडिरहेको जहाजले, एउटा पृथक् किसिमको शान्ति बोक्छ । पङ्खा कराएको एकोहोरो क्वााााााा  को एकसुरे आवाज । यदि जान्ने मान्छे हुनु भने सायद उसले त्यसैलाई सुनेर ध्यान गर्न सक्दो हो । ३०० किलोमिटर प्रति घण्टा भन्दा बढीको रफ्तारमा उडेको विमान यस्तो लाग्छ आकाशमा कतै अड्किएको छ र बेला बखत त्यसलाई बतासको बेगले थोर थोरै हल्लाइरहेछ । सायद विमान आकाशमा झुन्डिएको एउटा सानो कठपुतली हो । विमानको शान्त यात्राले उसलाई सोच्न बाध्य बनाउँछ कि रफ्तारको बोध मानिसलाई आफू वरपरको परिवेशले गराउँदो हो । यदि विमानको रफ्तारमा सडकमा गुडेको भए छेउ छाउको दृश्य पछि छुटेको देखेर मन आत्तिन्थ्यो होला । तर आकाशको विराटतालाई त्यो गति मामुली लाग्ने रहेछ । बादलहरूले कुनै चासो नै नदिँदो रहेछ विमानको अस्तित्व र रफ्तारलाई । 

यस्तै यावत कुराहरूले मन बहलाइरहेको समय उसको ध्यान ल्यान्डिङको उद्द्धोषले भड्किन्छ र हिमालबाट हटेर विमान भित्र पस्दछ । त्यत्तिकैमा ऊ बसेको सिटको छेउ भएर एउटा महिला आकृति जतनसाथ हिँड्दै अगाडि आउँछ र क्याबिनको ढोका छेउको एउटा सिट तानेर बस्दछ । उसले देख्छ एउटा औसत उचाइ भन्दा अलिक बढीकी एक विमान सञ्चालिका त्यो सिटमा आएर बसेकी छिन् । धेरै खुसी पनि नभएको उदासीका कुनै सङ्केत पनि नभएको त्यो मुहार चुपचाप विमानको ल्यान्डिङ पर्खन थाल्दछ । पर्खाइको त्यस समयमा कोनि के संयोगले हो एक निमेष उसको आँखा विमान सञ्चालिका सँग जुध्छ । परिचित भएर त हुँदै हैन, विमान सञ्चालिकाको सायद आफ्नो धर्म निभाउनका निम्ति थोरै मुस्कुराइ दिन्छिन् । 

एकोहोरो कसैलाई हेरिरहनुको असहजताले उसले आफ्नो आँखा पुनः किताबमै ल्याउन खोज्छ । तर त्यत्तिकैमा त्यस विमान सञ्चालिकाले उसलाई भन्छिन् क्यान आइ टेक अ लुक एट योर बुक ? उसले विमान सञ्चालिकाको आँखामा हेर्छ र एकै छिन अलमलिएर भन्छ । “स्योर” , र बुक मार्क आफूले पढ्दै गरेको पानामा चेपेर किताब विमान सञ्चालिकाको हातमा थमाइदिन्छ । विमान सञ्चालिकाले हातमा किताब लिएर कविताकाे आवरणमा अलमलिन थाल्छिन् । यता ऊ भने कहिबेर नजर नहटाई विमान सञ्चालिकालाई हेरिरहन्छ । किताबमा एक छिन हेरेर उनले विषय सूचीको पाना पल्टाउँछिन् र ऊतर्फ हेरेर भन्छिन् । मैले एलिफ सफाकको द फोर्टी रुल्स अफ लभ पढिरहेकी थिएँ । तपाईँको किताबको कभर पनि ठ्याक्कै त्यस्तै रहेछ अनि हेर्न मन लाग्यो । के एक अर्कासँग रिलेटेड छ र ?  उसले यसको प्रतिउत्तरमा भन्छ “तपाईँले पढिरहनु भएको किताब रुमीकै जीवनमा आधारित भएर लेखिएको हो , यो चाहिँ केवल रुमीका कविताहरूको सङ्ग्रह । प्रतिउत्तरमा उही हाँसो । विमान सञ्चालिकाले कहिबेर किताबलाई ध्यानपूर्वक हेरिन् र उसलाई किताब फिर्ता गरिन् । र भनिन् थ्याङ्क यु । प्रतिउत्तरमा ऊ केवल मुस्कुराइदियो । हातमा किताब लिएसँगै उसले एकै छिन अगाडि पढेको पाना पल्टायो र एउटा हरफलाई इशारा गर्दै विमान सञ्चालिकालाई पुनः किताब पढ्न दियो । उनी किताब हेरेर मुस्कुराइन । “Out beyond ideas of wrongdoing and rightdoing, there is a field. I'll meet you there.”  इशारा गरिएको हरफ यही थियो । एक छिनको मौनता पछि उसले संवाद अघि बढाउन भन्छ , तपाईँले इम्तियाज अलिको रक स्टार फिल्म हेर्नु भएको छ भने त्यो फिल्ममा यो कवितांश प्रयोग गरिएको छ । यसको प्रतिउत्तरमा विमान सञ्चालिका मुस्कुराइ मात्र दिन्छिन् र हातमा भएको किताबलाई जतनसाथ फिर्ता गर्छिन् । दुवै जना एक अर्कालाई हेरेर मुस्कुराउने कोसिस गर्छन् ।

कसैलाई एकोहोरो हेरिरहनुको अप्ठ्यारोलाई मेटाउन अब ऊ झ्यालबाट बाहिर हेर्न थाल्दछ । एकाध मिनेटमा दायाँ बायाँ ढल्कँदै ढल्कँदै विमान काठ्माडौँको धावन मार्गमा अवतरण गर्दछ । हातमा रुमीको किताब बोकेर ऊ सोचिरहन्छ , यदि विमान सञ्चालिकाले द फोर्टी रुल्स अफ लभ नपढेको भए सायद आज हामी दुईको संवाद हुन सम्भव थिएन । जे होस् विराटता भित्रको रहेका लघुताको पनि आफ्नै सौन्दर्य हुने रहेछ । ८ अर्ब ३० करोड जनसङ्ख्या रहेको संसार , त्यसो सानो टुक्रा आकाशमा उडिरहेका दुई मानिस जो जाबो एउटा सानो किताबका कारणले एक अर्का सँग बोल्नु र चिनजान गर्नु , कति मिठो संयोग ? 

विमानबाट पछाडिका सिटका मानिसहरू ओर्लिँदै जान्छन् । उसले टाउको माथिको ब्यागेज र्‍याकबाट आफ्नो ब्याग झिक्छ । ब्यागलाई सिटमा राख्छ  र हातको किताबलाई ब्यागको चेन खोलेर गोजी भित्र राख्छ । त्यति गरेर ऊ एक छिन अलमलिन्छ । के गरौँ को अलमल बिचै उसले ब्यागबाट कविताको किताब झिक्छ र विमान सञ्चालिकालाई दिन्छ । तपाई पढ्नुहुँदो रहेछ मेरो तर्फबाट उपहार । उसले केवल यति मात्र भन्छ । विमान सञ्चालिकाले उसलाई हेर्छिन् र भन्छिन् थ्याङ्क यु । तपाईँले लेख्नु भएको त हैन नि ? बदलामा ऊ मुस्कुराइ दिन्छ र हो को भावमा टाउको हल्लाउँछ । तपाईँको नाम ? उसले सोधेको यस प्रश्नमा विमान सञ्चालिकाले उत्तर दिन्छिन् । आश्रुति । तपाईँको नि ? प्रश्नको उत्तरमा उसले उत्तर दिन्छ विजय । दुवै एकै पल्ट मुस्कुराउँछन् । अब यो हाँसो केवल शिष्टाचार को मात्र रहँदैन चिनजानको बनिसकेको हुन्छ । उसले भन्छ थ्याङ्क यु , ह्याभ अ नाइस डे । प्रतिउत्तरमा आश्रुतिले पनि ह्याभ अ नाइस डे भन्छिन् । यति भनेर ऊ झोला बोक्छ र पछाडिको ढोका हुँदै विमानबाट ओर्लन्छ । बाहिर धुम्मिएको दिनले काठमान्डौँको रूपलाई उध्रन दिएको हुन्न । तर धुम्मीएरै पनि सुन्दर काठमान्डौँ सुन्दर देखिन्छ । झोला बोकेर ऊ सरासर विमान बाहिर राखिएको प्यासेन्जर बसमा चढ्छ र विमानबाट टाढिन्छ । उता आश्रुति सायद अर्को यात्राको तयारीमा जुट्छिन् । बसको झ्यालबाट आएको बतासको चिसोपन विजयको मुहारमा एक निमेष पोखिन्छ र कतै टाढा भाग्छ । 

- विजय लुइटेल

Comments