मेरो शरीरबाट अलैँचीकाे बास्ना आउँछ

 


ध्वार्र ... धवार्रर । उम्लि रहेको दुधलाई नरिवलको डाडुले चलाउँदा एउटा मिठो आवाज आइरहेको छ । ध्यान दिएर सुनिरहे मानिस एकोहोरिन सक्छ । सँगसँगै चुल्होमा बल्दै गरेको दाउराबाट बेला बेला पट्ट पट्ट पट्किएको आवाज पनि आइरहेको छ । जति पल्ट पट्किन्छ म त्यती पल्टै हेरिरहेको छु केहि देखिन्छ कि भनेर । हजूरआमा दुध चलाइरहनु भएको छ । म र एउटा खैरो बिरालो हजुरआमाको छेउमा बसेर आगो तापिरहेका छौँ । दुधबाट उडेको बाफलाई हेर्छु, अलौकिक नृत्य देखाउदै धुवाँ कालै भएको छानोतिर उक्लिरहेछ । चुलाेको छेवैमा दाहिनेपट्टि खोपीमा हजुरबाले केहि छिन अघि मात्र साँझबत्ती बाल्नु भएको थियो । बलिरहेको छ । माटोको घरमा साधारण किसिमले एउटा साँझ रात बनिरहेकाे छ । नरिवलकाे डाडुले दुध चलाएको आवाजमा ध्यान लगाएर आँखा चिम्लन्छु । म आफूमा लिन हुन्छु ।

खुट्टाले एकाएक कतै टेकेझैँ हुन्छ । नत्र त म प्रायजसो शुन्यमा टेकिरहेको हुन्छु । अक्सर यस्ता कुराहरु म को हुँ भन्ने प्रश्न आफुलाई सोध्दा प्रतिउत्तरमा आउँछ । आँखा चिम्लिनै रहन्छु । शरीरबाट फाँजीगाउँको माटो मगमगाउछ । लामो श्वास लिन्छु र आफुले फेरिरहेको श्वासमा ध्यान दिन्छु । काँचो अलैँचीको मादक बास्नानाकले चाल पाउँछ । मेरो शरीरबाट अलैँचीकाे बास्ना आउँछ भन्दै मनमनै रमाउँछु । आँखा चिम्लिनै रहेछु । शान्तिले मलाई अँगालीदिन्छ । 

ध्यानमै छँदै मेरो दृष्टिलाई बिस्तारै पहाडमा उक्लँदै गरेको कुहिरोले छोप्दै जान्छ । श्वासमै एकाग्र  हुने प्रयास गर्छु । बिस्तारै बहदै बह्दै त्यो कुहिरो कतै पर जान्छ र  बिलाउँछ । म देख्छु एउटा सफा दृश्य र त्यो दृश्य हुन्छ कङ्क्रिटनै कङ्क्रिटको विशाल शहर काठमाडौँकाे । देशको राजधानी काठमाडौँ । सपनाहरुकाे नगरी कान्तिपुरी । दृश्यमा भव्य कोलाहल छ । साँझ बत्तीका नाममा घरहरु आधुनिक बत्तीहरु बलिरहेका छन् । फराकिला सडक पनि साधुरो देखिने गरि गाडीहरु एकतमासले चलिरहेका छन् । गाइगुइ छ हर्नहरुकाे  । लाखौ मानिसका आवाजहरुको कोलाहल छ । अर्थ लगाउन खोज्छु । कुनै अर्थ लाग्दैन कोलाहलको ।  घोरिएर चियाउँछु एकाध घरहरुमा । कुनै घरमा पनि खोपी देख्दिनँ, दियो बलेको हुँदैन खोपीमा । हैन, कसैका घरमा पनि हजूरबुबा छैनन् कि के हो ? यसै सोचिदिन्छु । 

सहरलाई नियाल्दै बिस्तारै म अघि बढ्छु । मलाई म पुग्ने ठाउँ थाहा छ । सोझै उतै लाग्छु ।  जाँदा जाँदै केही घरका भान्सामा चियाएर हेर्छु । दुध उम्लिरहेकै छ तर डाडु स्टिलकाे छ नरिवलको छैन । छेउमा नाती र खैरो बिरालो छैन । दुध चलाइरहेकी हजुरआमा छैनन् । निरास हुँदै धुलै धुलो र प्रदुषणले छोपेको सहर छिचोल्दै गन्तव्य पुग्छु । घरको छतमा बसेर कोही एकतमासले पहाडहरुलाई हेरिरहेको छ । मानौ उसलाई पहाडसँग प्रित बसेको छ । केहीबेर परै बाट उसलाई नियाल्छु र देख्छू  सुसेल्नका लागि उसले ओठलाई गोलो पारेर श्वास फुक्न खोज्दैछ । म पुगिदिन्छु उसको समिप । उसले मलाई हेर्छ र मुस्कुराउँछ । म छेउमा भएता पनि ऊ आफुले थालेको कार्यलाई निरन्तरता दिन्छ । सुसेल्ने प्रयास गरिरहन्छ । म सोधिदिन्छु, सुसेल्न आउँदैन हो तिमीलाई ? उसले भन्छ  “आउँदैन नि । पहाड देखेर सुसेल्न सिकुँ लाग्यो । घर भित्र सुसेल्यो भनेँ अभासी लाग्छ अरे । त्यसैले यहाँ छतमा सिक्न आएको ।”

ध्वार्र ... धवार्रर । उम्लि रहेको दुधलाई नरिवलको डाडुले चलाउँदा एउटा मिठो आवाज आइरहेको छ । मलाई भन्नु त सुसेल्न सिक्नलाई पहाड नै चाहिन्छ हो ? उसले सोधिदिन्छ मलाई । म प्रतिउत्तरमा केवल सुनिमात्र रहन्छु । मेरो मौनतालाई चिर्दै ऊ आफै बोलिदिन्छ । सुसेली त जङ्गललाई आफ्नो बह बिसाउने माध्यम हो । निरास भएर बसेका रुखहरुलाई सङ्गीत सुनाएर साथी बनाउने कला हो । म सहरमा बसेर कस्का लागि सुसेलुँ ? उसले उत्तर पनि आफै दिन्छ । म सुनिरहन्छु  उसकाे एकालाप ।

हिमालले पनि हेरिदिने आँखा खोज्छन् । पहाडले सुसेल्ने ओठ खोज्दा हुन् । यो मेरो ओठ कहिल्यै पहाडको साथी बन्नै पाएन । गुनासो गरिबस्छ मसँग । कङ्क्रिटकाे जङ्गलमा बनमा जस्तो प्रतिध्वनि पनि त आउँदैन ।  सानो छँदा मैले पहाडलाई आफ्नो नाम सुनाउँदा पहाडले मलाई बोलाएझैँ, यी सिमेन्टका भित्ताहरु बोलाउँदैनन् मलाई । सहरले आवाज दबाउन मात्र जान्दछ जस्ताे लाग्छ । आभाष दबाउन मात्र जान्दछ जस्तो लाग्छ । 

ध्वार्र ... धवार्रर । उम्लि रहेको दुधलाई नरिवलको डाडुले चलाउँदा एउटा मिठो आवाज आइरहेको छ । ध्यानस्तै छु । म उसलाई सोधिदिन्छु, तिम्रो आवाज दबाएको छ र सहरले ? उसले केहिबेर सोच्छ । गहिरिएर सोच्छ र भन्छ, मलाई कहाँ फुर्सद छ र आफ्नै आवाज सुन्ने । म त पत्रपत्रिकाहरुमा लेखिइने झुटहरुमा हराएको छु । मोबाइलकाे दुनियमा कैद छु । तिनीहरुले जे सुनाउँछन्, मेरो आवाज त्यही न हो । आफ्नो आवाज कहाँ छ र मेरो ? तर मलाई अचेल आफुले समेटेका जानकारीहरु ज्ञान हुन् जस्तो लाग्दैन । ज्ञान त अनुभुति हो । कसैलाई नसुनाउँदा पनि सुन्दरै रहने सत्य हो । तर अफसोस, सामाजिक सञ्जाल चहार्दै अमूल्य समय बुझाइरहन्छु । जीवनलाई सहज बनाउन आएको मोबाइल यन्त्रलाई सम्पूर्ण जीवन सुम्पन्छु । गुमराह जीवन बिताइरहेछु सायद । थाहै नपाई म सायद पोचो भएको छु । बाहिर बाट हेर्दा गतिलै देखिएपनि भित्र बाट बिग्रिन थालिसकेको । कुहिन थालिसकेकाे । म शब्दहरुको जंजालमा कैद भएको छु । हजुरबुबालाई सम्झन्छु । उहाँलाई जङ्गली लागेकाे फुकिदिन आउँथ्यो ।  उहाँलाई कहिल्यै सोध्न पाइनँ तर उहाँ त्यो शक्ति चिन्नुहुन्थ्यो जस्तो लाग्छ मलाई । म त आफैलाई चिन्न सकिरहेको छैन । उठ्यो मोबाइलकाे पर्दामा घोरियो । यो गर्नु छ त्यो गर्नु छ भन्यो । यो जान्नु छ त्यो जान्नु छ भन्ने कुरा सोच्यो । बस्यो । मेरो ध्यानलाई मोबाइलका पर्दाले यति असर गरेको छ कि म एकैछिन केहि नगरी बस्न सक्दिन । एक्लै बस्न सक्दिन। एकान्तमा रमाउँन सक्दिन । मोबाइल छेउमा भएन भने मलाई एकान्तले अनेक कुराहरु सोध्छ र म त्यो आवाजलाई नजरअन्दाज गर्न मोबाइलकै सरणमा पर्छु । म हरदिन आफुलाई सुन्न बाट आफैलाई बञ्चित गरिरहेको छु । यो मेरो अधिकार हैन भन्ने पनि हैन थाहा तर म बाध्य छु । बोल्नु पर्छ लेख्नु पर्छ र सुनिनु पर्छ भन्ने कुराकाे पछि लाग्दा लाग्दै  अन्जानैमा  अनूभूतिको बिरोधी हुन पुगेछु । शब्दहरुको दास भएछु । 

ऊ भन्दै जान्छ । आज यसो सोचिहेरेँ सुसेलीले कुनै कुराको किटान नगर्नै रहेछ । यसले विचार बोल्दैन , शब्द बोल्दैन । त्यसै कारण म सुसेल्न सिक्दैछु । शब्दहरुमा जस्तो सुसेलीमा गुमराह पार्ने शक्ति हुँदैन नि त । यति भनेर उसले सानो बालक जस्तो हाँसाे हाँसिदिन्छ ।  मलाई अचेल यो समाचार, आचार, विचार, सिद्धान्त लगायत सप्पै सप्पै चिजहरु झुटा लाग्छन् । मलाई यी सबै भन्दा सत्य त सुसेली छ जस्तो लाग्छ । अनि सत्य छ जस्तो लाग्छ खोलाको सुसाइ । रुखका पातहरु एकअर्कामा ठोक्किँदा सिर्जित हुने ध्वनी । बतासले सुस्तरी सुनाएर जाने सन्देश । अनि बादलले हरदिन फेरि फेरि हिँड्ने आकाशको बाटो । सोचिबस्छु शब्द असत्यको बाहक हो । बोलिरहने मानिस मलाई नबोलिदियोस् लाग्छ । केवल सुनिरहोस् जस्तो मात्र लाग्छ । हिमालले बोलेको, खोलाले बोलेको , वादल, बतास, पहाड र समतलले बोलेको । सिमेन्टका भित्ताहरु त बोल्दैनन् । धेरै पल्ट बोलाउन खोजेको छु ।  यी त मानिसले बनाएका कृत्रिम चिज न हुन् । मानिसले त आफै आफनो बोली बोल्न बिर्सीसके भने तिनले बनाएको भित्ताहरु बोलुन पो के ?"

ध्वार्र ... धवार्रर । उम्लि रहेको दुधलाई नरिवलको डाडुले चलाउँदा एउटा मिठो आवाज आइरहेको छ । म उसलाई भनिदिन्छु सुसेल न त । कोसिस गर । कसो नसकिएला । मेरो कुरा सुनेपछि उसले एकपल्ट सुसेल्ने प्रयास गर्छ तर सफल हुँदैन । पख है म फेरि गर्छु भन्दै  पाँच सात पल्ट अझै प्रयास गरेपछि अन्त्यमा हार खान्छ । एकैछिन ऊ ,पर देखिएका पहाडलाई चुपचाप भएर हेर्छ र पहाडबाट आँखै नहटाइ भन्छ तिमीले सिकाइदेउ न सुसेल्न  । आउँछ होला नि तिमीलाई ? म भन्छु आज हैन ल ? मलाई खोज्दै पहाड आउनु, उतै सिकाइदिन्छु । अहिले त म ध्यानमा छु । सुसेल्यो भने त ध्यान भङ्ग हुन्छ नि । बरु तिमीलाई म एउटा काम अह्राउँछु मान्छौँ ? म उत्साहित भएर भनिदिन्छु  । उसले हुन्छ को भावमा शीर हल्लाउँछ। उसले अझै पहाडलाईनै हेरिरहेको छ । आँखामा पोखिएलान् जस्ता आँसुले ताल बनाएका छन् । निकास खोजिरहेछन्  । म उसलाई आँखा चिम्लन अह्याउँछु र सोध्छु । ध्यानले सुन्यौ भने नरिवलको डाडुले उम्लिँदै गरेको दुध चलाउँदाको ध्वार्र ... धवार्रर आवाज सुनिन सक्छ । सुन त । उसले आँखा चिम्म गरेरै तलमाथी गरेर टाउको हल्लाउँछ । उसको आँखामा जमेको आँसुको तालले निकास पाउँछ । ऊ आँखा चिम्लेरै रोइदिन्छ । म भन्छु ध्यान देउ त । पक्कै तिमीले आफ्नो शरीरबाट फाजीगाउँको माटो मगमगाएको चाल पाउनु पर्छ । उत्साहित भएरै सोधिरहन्छु । उसले फेरि टाउँको हल्लाउँछ । त्यसो भए अब तिमी आफुले फेरिरहेको श्वासमा ध्यान देउ । अलैचीको मिठो बास्नाथाहा पाउँनेछौ । उसलाई निर्देशन दिँदै म बोलिरहन्छु । उसले फेरि हो बास्ना आउँदैछ को भावमा टाउको हल्लाउँछ । म भन्छु ,  त्यसो भए अब म सँगै भन  “मेरो शरीरबाट अलैचीकाे बास्ना आउँछ । उसले सानो स्वरमा दोहोर्याउँछ “मेरो शरीरबाट अलैचीकाे बास्ना आउँछ” । त्यती बोलेर ऊ शान्त हुन्छ । उसको मुहारमा एउटा अलौकिक हाँसो छाउँछ । वेग्लै दिप्ति पलाउँछ । म उसलाई हेरेर मन्द मन्द मुस्कुराउछु  । ऊ पनि मन्द मन्द मुस्कुराउँछ । ध्वार्र ... धवार्रर … । एउटा मिठो आवाज आइरहेकै छ । 

टिङ गरेर मोबाइलबाट सिङ्गिङ बोउलको आवाज बज्छ र ध्यान गर्ने समय समाप्त भएको जनाउ दिन्छ । म श्वासमै ध्यान दिएर विस्तारै आँखा खोल्छु । शरीरबाट अलैँचीको बास्ना आइरहन्छ । उता फाजीगाउँमा हजुरआमा अझै नरिवलको डाडुले दुध चलाइरहनुभएकाे छ । सायद जीवनभर चलाइरहनु हुनेछ मेरो स्मृतिमा । ध्वार्र ... धवार्रर …

 विजय लुइटेल

Comments