नयाँ बर्षमा ऐना हेरिरहेछु


नयाँ वर्षले के नै पो नयाँ ल्याउँछ र ? हिजो साँझ मात्रै विदा भएको घामलाई पुन: एक पल्ट परिचित गराउँछ । त्यती त हो । समय आँखाको धोका हो , चेतनाको मृगतृष्णा हो अनि नयाँ वर्ष, केवल समय मापनको एक सानो अंश । जावेद अख्तरको एउटा कविता याद आउँछ : 


कभी कभी मैं ये सोचता हूं

कि चलती गाड़ी से पेड़ देखो

तो ऐसा लगता है

दूसरी सम्त जा रहे हैं

मगर हक़ीक़त में

पेड़ अपनी जगह खड़े हैं


तो क्या ये मुमकिन है

सारी सदियां

क़तार-अंदर-क़तार अपनी जगह खड़ी हों

ये वक़्त साकित हो

और हम ही गुज़र रहे हों ..


समय, एउटा भूत । जो छ भनिन्छ तर देखिँदैन । पदयात्रा निस्कँदा याद गरेको छु । न कुनै घडी न मोबाइल फोन , आफुले समयनै समयहरुको एउटा विशाल संसारमा यात्रा गरेझैँ अनुभव गरेको छु । बगिरहेको खोलाले कहिल्यै घडी हेरेन , दुई बज्यो, तीन बज्यो भनेर बग्नलाई कहिल्यै हतार गरेन । आफ्नो लयमै बगिरह्यो । भारी बोकेर वा यसै चरनमा चरिरहेका चौँरीहरुले गोडामा घडी बाधेको कहिल्यै देखिनँ । ती आफ्नै तालमा मस्त थिए । म मात्र थिएँ जो कि हतार हतार , आज त यहाँ पुग्नु पर्छ , शुक्रवार सम्म घर फर्कनु पर्छ भन्दै गन्तव्य तर्फ लम्किरहेथेँ । कहिलेकाँहि लाग्छ यो संसारमा, दिनलाई घण्टा र घण्टालाई मिनेटमा ननापिए कस्तो हुने थियो । बर्षलाई महिनाहरुमा र महिनाहरुलाई दिनमा नटुक्रयाए कस्तो हुने थियो । ओहो म त बितिरहेछु भन्ने एउटा अनुभुति हुँदा हुँदै, सम्झाउने समयको नाप नहुँदा कस्तो शान्ति हुने थियो । नयाँ बर्ष मलाई त्यसैले खास नयाँ लाग्दै लाग्दैन । हिजो चैत्रको अन्तिम दिनबाट सुर्यले संसारको एक फन्को लगाउँदा न मेरा विचार बद्लिएका छन् न शरीरले एकाएक उर्जानै प्राप्त गरेको छ । म सोच्छु २४ घण्टामा संसारलाई एक फन्को लगाउनु सुर्यको समय हो, मेरो हैन । सबै मानिसले आफ्नै समय लिएर आएको हुन्छ । साधारण हिसाबमा या भनौँ संसारले मानेको हिसाबमा हेर्ने हो भने २०८१ मा टेक्दा मैले जीवनको एक नयाँ बर्षमा टेकेँ र एक बर्ष ज्यादा बाँचिदिएँ । तर मलाई किन हो यो कुरामा विश्वास गर्न पटक्कै मनै छैन । म मान्दिन कि यो नयाँ बर्ष हो ।


संसारलाई एउटा लयमा चलाउन समयको आवश्यकता पर्दछ यसमा कुनै पनि दुईमत छैन । यदि समय नहुनु भने एयरपोर्टमा प्लेन कुन बेला उड्थे कसलाई के थाहा ? कुन मिटिङ कतिबेला हुन्थ्यो त्यो पनि के पत्तो । कस्ले कुन बेला ‌औषधी खाने ? कुन बेला गन्तव्यको गाडी लाग्छ के थाहा ? कुन बेला साथीको विवाहको जन्ती जाने के खबर । मलामी लैजाने कुन बेला अहँ हामी जानकारनै हुने थिएनौँ । तर यति भन्दा भन्दा एउटा कुरा सत्य हो कि समय निस्चिततालाई भरण पोषण गर्दछ । नयाँपनलाई अलिक स्थान छैन यसको अस्तित्वमा । जे होस् यस भौतिक जगतमा महत्व ठूलो छ समयको तर यो जुन आत्मा छ त्यो समय भन्दा पर छ । मानिस भित्रको जो एउटा पृशक लय छ त्यसले संसारले मानेको समयलाई नकार्दछ । उसलाई आफ्नो लयमा शान्ति छ । म त्यो लयको खोजमा छु । यात्रारत छु । हातमा घडी बाँधेरै पनि त्यो सम्भव छ ।


तिर्खा कुन समयमा लाग्छ ? तिर्खा लागेपछि घडी हेर्यौँ भने हामीलाई थाहा हुन्छ कि ए!! मलाई त दिनको १२ बजे पो तिर्खा लागेछ । तर शरीर घडी हेरेर तिर्खाउँदैन । उसको आफ्नो चेतना छ , शरीर आफ्नै लयमा चल्छ । मेरो झ्याल छेउ चिर्बिराउने चरोले घडी बाधेको म कहिले देख्दिन तर सधै चिर्बिराउन आउँछ, चिर्बिराएर जान्छ । उसको आफ्नै समय छ । किन कुनै बालख चाडैँ सुते पनि विहान चाढै उठ्दैन । अनि किन कुनै बालख राती अबेर सुते पनि घामनै नझुल्की उठ्दछ ? म अचेल यस्ता प्रश्नहरुमा हराइरहन्छु ।  हामीमा आएको केही उदासी, कतै सबैले एउटै समयको दास भएर बाँच्नु पर्छ भन्ने मान्यताको उपज त हैन ? मानिस आफैँमा एउटा समय हो जस्तो आभाष भइरहेछ मलाई आज । यस नयाँ बर्षको पहिलो दिन म ऐनामा उभिएर आफ्नो प्रतिबिम्ब नियालिरहेछु र ऐनामा केवल एउटा बडेमानको घडी मात्र देखिरहेछु र त्यैबेला मेरो ढोकाबाट एउटा सानो घडी मेरो कोठामा सुटुक्क पस्छ र मलाई हेरेर "भ्याउ" गर्छ । उसको खेल्ने समय भएको छ । 


- विजय लुइटेल 



Comments