चैत्र २६ गतेका दिन सामाजिक सञ्जालबाट ३ महिनाको लागि पर बस्ने निर्णय लिएँ । आज चैत्र २९ हुँदा दिमाग चक्राइसकेको छ । म सोच्थेँ सामाजिक सञ्जाल र मोबाइल भन्दा पर पनि मेरो जिन्दगी छ तर म गलत रहेछु । दिनमा ४ देखि ५ घण्टा मोबाइल चलाउने मलाई मोबाइल नचलाउँदाको फुर्सद या भनौँ बोरियतले साह्रै अप्ठ्यारो पारेको छ । बिहान उठेर म केहीबेर हिँड्नका लागि निस्कन्छु । त्यसपछि घर आउछु र एकछिन कुकुरलाई खेलाउँछु । तब सुरु हुन्छ बोरियतको सिलसिला । पढ्ने बानी छ पढ्छु । हिजो सआदत हसन मन्टोको “स्याह हाशिये और अन्य कहानियाँ” पढेँ । पढिनै रहेँ …… धेरैबेर । आज लागिरहेछ म एउटा लतबाट निस्किएर अर्को लतमा फस्नु हुँदैन । लेख्ने मानिस भएकाले पढ्नु आवश्यक छ तर पढिहरने लत पनि राम्रो हैन । निजा फाजलीको एउटा शेर छ :
धूप में निकलो घटाओं में नहा कर देखो
ज़िंदगी क्या है किताबों को हटा कर देखो
यसलाई पनि मनन गरिरहेको छु । यो ३ दिनमा फुर्सदलाई कसरी तह लगाउने होला भनेर अनेक कुराहरु दिमागमा आए । मैले ३० मिनेट जति गितार बजाएँ । केही शब्द गुनगुनाएँ । कोठामा छरपस्ट भएका लुगाहरुलाई दराजमा मिलाएँ , झ्यालमा लागेको धुलो पुछेँ । अँ.. एकाध पल्ट हुत्तिदै युट्युबमा नपुगेको हैन तर अर्को लत लाग्न दिनु थिएन, आफैँलाई सम्झाएँ । मोबाइल मात्र हटाउँदा जीवन कति खाली हुने रहेछ बल्ल अनुभव गर्दैछु । अहिले बेला बेला शुन्य भएर कोठाको भित्तालाई पनि हेरिबस्छु । बेग्लै शान्ति छ । बोरियत प्रसस्त छ । यसलाई सही ठाँउमा प्रयोग गर्न सके उचित हुन्छ । यही एउटा अठोटका साथ बाँचिरहेछु । सोच्न बाध्य छु यदि हरिवंश आचार्य सानो छँदा हामी जसरी सामाजिक सञ्जाल चलाएको भए उनी हरिवंश आचार्य बन्थे होलान् त ? कुकुरको आवाज निकाल्न सिक्ने समयमा उनी कोहीसँग च्याट गर्दै हुन्थे होलान् । मोबाइलको स्क्रिनमा न्युरँदा उनले आफु वरपरका मानिसलाई नियाल्न सक्दैनथे होला र आफुले टेलिभिजनमा निभाएका पात्रहरुलाई जीवन्त बनाउन सक्दैनथिए होलान् । महात्मा गान्धी सामाजिक सञ्जालको लती भएको भए भारतको के हुने थियो ? पछिल्लो समय म एकाध कुराबाट पिरोलिएर सामाजिक सञ्जालसँग दुरी बनाइरहेको छु । कोभिड ताकाको कुरा हो म लगभग ६ महिना सामाजिक सञ्जालबाट पर बसेँको थिएँ । त्यही दौरान आफ्ना ९० वटा जति कविताहरुलाई समेटेर एउटा कवितासंग्रहको पाण्डुलिपि बनाएँ । दुई बर्ष अघि त्यही पाण्डुलिपि, कवितासंग्रह समयका “खुकुला चप्पल” बनेर बजारमा आयो । त्यस्तै पोयट आइडलमा सहभागी हुनु पुर्व म १३ दिन सामाजिक सञ्जालबाट पर रहेको थिएँ । पोयट आइडलको प्रतिश्पर्दी रहँदै गर्दा पनि दुई दिनका लागि हामीबाट मोबाइल खोसिन्थ्यो र कविता लेख्न लगाइन्थ्यो । त्यही समय हो मैेले आफैँलाई चित्त बुझ्ने एकाध कविता लेखेको ।
यसपाली सामाजिक सञ्जालबाट पर रहनुले मलाई जीवन , कविता र आफ्ना उपलब्धिहरुलाई धोरिएर हेर्ने मौका दिएको छ । बिहानै उठेर मोबाइल चलाउन छाडेकाले मैले हिजो भोगटेको रुखमा बसेर कुक्कु गरिरहेको कुक्कु चरोलाई सुने । टेबलमा पानी नपुगेर काकाकुल भएको बिरुवालाई थोरै पानी पिलाएँ । नारायण गोपालका गीत झन् गहिरो गरि गाडिएका छन् अन्तस्करणमा , एकाग्र भएर सुन्न थालेको छु । लाज लागे पनि मलाई नाँचु नाँचु लागेको छ । गाउँ थर्कने गरि गीत गाइदिन मन लागेको छ । कहिले देखि पढौँ लागेका तर नभ्याएका, किताब छन् कोठामा, पढ्दे उर्जा भरिएको छ । खाटकै छैउमा मेरो कुकुर “भोलु” पल्टिरहन्छ । हिजो आज समय दिन्छ मलाई भनेर होला मसँग अलिक झ्याम्मिन थालेको छ ।त्यसलाई निक्कै मिनेट सुम्सुम्याउन थालेको छु , रहरैले । करीब ६१०० हाराहारी साथी छन् फेसबुकमा, इन्स्टाग्राममा २१०० हाराहारी तर त्यसले अचेल खासै महत्व राख्दैन मेरो जीवनमा । कविता किन लेखिरहेछु ? एउटा जिम्मेवारीबोधले ? मेरा कविता मन पराउनेहरुलाई कविता लेख्दै छु है भन्नलाई ? आफैलाई सोध्छु । मनले हैन अचेल लेख्नै पर्छ भनेर अल्गोरिदमले भनिरहन्छ । किन हो कोनी हिजो आज अलगोरिदम, कला मार्ने विष लाग्छ । कला करले हैन आवश्यकताले जन्मिनु पर्छ । म यस्तै सोचिदिन्छु । मलाई केही भन्नु छ भनेर जन्मिएको कला मैले केही भन्नै पर्छ भनेर जन्मिएको कला भन्दा हजारौँ गुणा बलियो हुन्छ अनि आफ्नो पनि हुन्छ । म यहि सोचिबस्छु । फेम भन्ने कुराले पनि मलाई अचेल खासै आकर्षित गर्दैन ।विप्लव प्रतीक सरको एउटा कवितांश छ :
मलाई मन छ, म भएको
कसैलाई थाहै नहोस्
मलाई मन छ, म गएको पनि
कसैलाई थाहै नहोस्
मलाई कसो कसो त्यस्तै हुन मन छ । जे होस् त्यो निजि कुरा भए । मैले पनि एउटा सानो कविता लेखेको छु पढ्नुहोस् है ।
याद त आउनु पर्ने थियो
बाले काँधमा बोकेर बजार डुलाएको
याद त आउनु पर्ने थियो
बाले पहिलो जमेट्री बक्स दिलाएको
कलेज जाँदा गोजीमा हालिदिएको पाकेट खर्च
अनि पास हुँदा काँधमा मारेको मिठो धाप
तर बाको किरिया बसुन्जेल
मोबाइलले मलाई चलाइरह्यो
बालाई सम्झिने फुर्सद नै मिलेन ……..
यो कवितालाई काल्पनिक मानिदिनुभए बेस । म लेख्ने मानिसलाई पनि यो कविता स्वीकार्न सकस भइरहेको छ । के के लेखि दिन्छु आफैलाई मन पर्दैन । कल्पनाले पनि के के जाती गराउँछ मलाई ।
बोरियत ( Boredom ) । क्याल निउपोर्टले आफ्नो किताब डिप “वर्क” मा लेखेका कुराहरुको निचोड छ कि सिर्जनशीलता भनेको बोरियतको उपज हो । मलाई यो एकाध दिनमा यस कुरामा झन् गहिरोसँग विश्वास हुन पुगेको छ । म प्लस टु पढ्ने बेलाको कुरा हो । एक जना दाईले बिदेशबाट मोबाइल पठाइदिन्छु भन्नु भएकाले मैले नेपालमा मोबाइल किनिन । दुई वर्ष सम्म नोकियाको पुरानो मोडल चलाएँ । त्यस समय अरु आफ्नो भर्खर आएको एन्ड्रोइड मोबाइलमा क्यान्डी क्रस खेल्थे म भने सोनु निगम अनि महोमद रफीका गीत सुन्थेँ । १,५०० वटा गीत त मोबाइलमा राखेर हिँड्थेँ । समय अर्कै थियो । शंकर महादेवनको ब्रेथलेस गाना कण्ठ पार्थे अनि बाबाको दराजबाट “चपाइएका अनुहार” नामको उपन्यास झिकेर एकै बसाइमा सक्काउथेँ । कलेजमा खाजा खान पाएको पैसाले किताव किन्थेँ , नयनराज पाण्डेलाई त्यसैबेला पढेको हुँ । ब्याचलर पाँच सेमेस्टर सम्म पनि म केवल किताबमै थिए आफैसँग थिएँ । त्यसपछिनै हो मैले आफ्नो समय सामाजिक सञ्जासँग बाँड्न थालेको । साला समय खाँदो मात्र रहेछ , मलाई खुसी दिन नसक्ने रहेछ । संगत असल साथीको मात्र गर्नु पर्छ भाई नत्र उभो लाग्न दिँदैनन् भन्नु हुन्थ्यो बाले । सामाजिक सञ्जालले बाको कुरालाई साचो सावित गरिदियो । धत् … यस्ता साथीलाई त लात हानेकै बेस भनेर म उम्किएको छु यसको जालबाट । सोचेको छु ३ महिना सामाजिक सञ्जालबाट टाढा रहँदा पनि मलाई यसको साथ आवश्य लागेन भने म कहिले पनि नफर्कने गरेर यसको संगत छोड्नेछु । यो आफैँसँग गरेको वाचा हो ।
म अहिले सोच्छु कवि हुनु या भनौ मैले लेख्नु दुवै प्लसटु पढ्दा मोबाइल नभेट्नुको कारण सम्भव भएको हो । जब समय खाली हुन्छ तब मात्र नयाँपन वा प्रयोगले जीवनमा ठाउँ पाउँछ भन्ने कुरामा म विश्वस्त भएको छु । समयनै नभएपछि वा मोबाइले चोरिदिएपछि । के पो होला र .. के ले पो भरिएला र जीवन ? यो लेख जुन छ , त्यो आफैमा बोरियतको उपज हो । केही काम नभएपछि यो लेख लेख्ने हुटहुटी लाग्यो । लेखिदिएँ । मोबाइल हातमा भएको भए म अहिले ……… के हेर्दै हुन्थेँ होला ? …………………………………..
- विजय लुइटेल
सानोठिमी भक्तपुर
Comments
Post a Comment