देशभक्ति खोजिरहन्छ देश

थाहा छैन किन हो मलाई देशभक्तिले अलि बढी नै छुन्छ । आज भारतीय फिल्म छावा हेर्न गएको थिएँ । छत्रपति साम्भाजी महाराजको कथामा बनेको उक्त चलचित्र हेरेर मैले एउटा नयाँ कुरा थाहा पाएँ । भारत किन दिन दिनै प्रगति गर्दैछ भन्ने बारे । घर आएर फिल्म हलबाट निस्किएका मानिसहरुको फिल्म रिभ्युको भिडियो पनि हेरेँ । मानिसहरु रोइरहेका थिएँ । भारत देशमा यस्ता सपुत पनि थिए भन्दै । फिल्म हेरेर आउँदा यस्तो लाग्थ्यो कि के छत्रपति साम्भाजी महाराज जस्ता पात्र पनि हुन सक्छन् यो संसारमा जो जीवितै छँदा छँदै आफ्ना सबै नङ उखेलिँदा , आँखामा तातो झिर हालिँदा पनि आफ्नो अडानबाट पछि हट्दैन । तब सम्झिएँ ७३ वर्षको उमेरमा नेपाल-अंग्रेज युद्धमा देउथलको लडाइको नेतृत्व गर्ने नेपालका महान योद्धा भक्ति थापालाई । आँतनै सिरिङ्ग भएर आयो । हरेक दिन देशको इतिहास सम्झेर शीर ठाडो पार्न सकियो भने भविष्य पनि उज्यालिन्छ भन्ने कुराले अहिले चेतनामा घर गरिरहेको छ ।  


फिल्ममा एउटा पात्र थिए कवि कलस जो छत्रपति साम्भाजी महाराजका करिबी मित्र र सहयोगी थिएँ । उनले एउटा दृश्यमा भन्छन् महाराज म त नुन जस्तो हुँ तपाईले मलाई जता प्रयोग गरे पनि हुन्छ । त्यसको प्रतिउत्तरमा छत्रपती भन्छन् म तिमीलाई दुशमनको घाउमा प्रयोग गर्नेछु । मैले त्यो दृश्य हेर्दा हेर्दै आफैलाई प्रश्न गरेँ । तँ अझैँ पनि आफुलाई कवि भन्छस् ? मलाई आफै देखि लाज लागिरहेको छ । 


मैले त ती दिनहरु देख्न पाइँन या भनौ मेरो सौभाग्य नै भएन, देशका लागि मानिसहरु मरिमेटेको हेर्ने । ढिलो जन्मिएँ । आज भारतीय फिल्म छावा हेरेपछि लाग्दैछ नेपालमा पनि कति त्यस्ता योद्धाहरु थिए जसले हरेक दिन देशकै लागि मात्र भनेर बाँचे । ज्याननै देशलाई अर्पिएर विदा भए । अमरसिँह थापा , भक्ति थापा लगायत देश भित्र वा बाहिर देशका नाममा युद्ध लड्ने हरेक योद्धाहरुलाई आज म सम्झिरहेछु । दु:खको कुरा के छ भने, न आज उनीहरु गीतमा गाइन्छन् न त फिल्ममा नै कतै देखिइन्छन् कुनै नायक बनेर । उनीहरुको अस्तित्व नेपालको एकता जस्तै लुकिबसेको छ नेपालको इतिहासमै कतै ।


कुरा वर्तमानको हो । हामी हरेक दिन सामाजिक सञ्जालमा देख्छौँ । देशमा यो छैन त्यो छैन भन्ने अनेक गुनासाहरु । हो आवाज उठ्नु आवश्यक छ । म हैन भन्दिन । देशको स्थिति नाजुक छ । शान्ति छैन ।  म यो मान्न तयार छु । तर म यो मान्न तयार छैन कि देश सधै यस्तै रहनेछ । चिया पिउँन जाँदा होस् वा साथीभाइ भेटघाट हुँदा होस् । हामी साधारण रुपमा नै भनिरहेका हुन्छौँ यो देशको केहि हुने वाला छैन । सबै नेपालीले हरेक दिन यस्तै कुरा कतै न कतै भनिरहेकै हुन्छन् । मेरी आमा भन्नु हुन्छ १०० पल्ट एउटै कुरा दोहोर्यायो भने भनेको पुग्छ अरे । पावर अफ सवकन्सियस माइन्ड नामक कितावले पनि यहि कुरा भन्दो रहेछ । डर लाग्छ हामीले यो देशमा विकास हुँदैन यो देशको केहि हुनेवाला छैन भनेको कुरा कुनैदिन देशले पो सुनिदिन्छ कि । सतीले सरापेको छ भनेर हरदिन सम्झाउँदा सम्झाउँदै देशले आफैलाई घृणा गर्न त थाल्ने हैन ? देश भन्दा ठूलो कुनै व्यक्ति हुँदैन अनि देशभक्ति भन्दा ठूलो इमानदारी हुँदैन मलाई थाहा छ । 


लोकतन्त्र आयो । जनताको सासन आयो । तर एउटा कुरा हरायो । त्यो के हो त्यो आफैँ सोच्नु होला । खोसेको रोटीले मेरो पेट भरिन्न भन्ने गीत पछि कुनै एउटा गीतले तपाईको आँखा आँसुले टम्म भरिएको याद छ ? छ भने भन्नुहोस् मलाई त याद छैन । भन्नुस् देशले रगत मागे मलाई बली चढाउ पछि कुन गीतले तपाईलाई देशका लागि मरौँ मरौँ बनाएको छ ? 


इतिहासले मानिसलाई केवल दुईटा कुरा सिकाउँछ । एउटा पुराना गल्ति नदोहोर्याउन र अर्को पुराना उपलब्धिका गुण गाइरहन । हामी तीमध्ये कुनैपनि गरिरहेका छैनौँ । नेताहरु भन्छन् देशले बाटो खोज्छ , सुविधा खोज्छ , सुन्दर जीवनस्तर खोज्छ तर मलाई लाग्छ देशले एकता खोजिरहन्छ , देशभक्ति खोजिरहन्छ । नपत्याए भारतले नाकाबन्दी गरेका बेला बरु दाउरा बालिन्छ तर कसैसँग झुकिन्न भनेर भन्ने नेपालीलाई सम्झनुस् । त्यस बेला अभाव थियो तैपनि सबै खुसी थिए । सबैमा आँट थियो तर आज सबै थोक पर्याप्त छ त्यही पनि सबैमा उदासी छ । किन ? 


म सोच्दैछु कवि भएर प्रेमीकाका आँखा , प्रेम , यौन र जे पायो त्यही विषयमा लेख्नु बाहेक मैले के गरेँ आजसम्म ? मेरा कविता देशका लागि नुन भए कति खुसी हुने थिएँ म । म आफ्नै पहिचान माथि प्रश्न गरिरहेको छु ।


अहिले कल्पनामा केवल एउटा दृश्य चलिरहेछ । संसारकै कुनै एक स्थानमा एउटा घर छ दुईतले । घरको आँगनमा एउटा विशाल बगैँचा छ । तर स्याहार नपुगेकाले झारहरु बढेका छन् । परिवारका सात आठ जना सदस्यहरु माथिल्लो तलाको बार्दलीमा बसेर लुडो खेल्दै रमाइरहेका छन् । उनीहरुको एउटै मात्र गुनासो छ । कोही भनिरहेछ माली नपाएर आँगन हेरिनसक्नु भयो । साला आजकल गतिलो मालीनै पाइँदैन । अब त्यो आफैँ सफा गर्न सक्ने पनि कुरा आएन । केहि नहुने भयो यो घरको । सबै जना गलल हाँस्छन् । म भित्र भित्र रोइदिन्छु । 


- विजय लुइटेल


मेरा अन्य लेखको अडियो र कविता सुन्नका लागि यो लिङ्कमा जानुहोला 

Comments

  1. Wowww...katti sharal ani katti bhabuk lekhai

    ReplyDelete
  2. अहिले हामीले भाेगिरहेकाे परिस्थितिकाे यथार्थ चित्रण पाएँ। बधाई छ बिजय

    ReplyDelete

Post a Comment