LinkedIn भन्ने एउटा एप्पलिकेसन छ । जसमा यदि तपाई र कोहि मानिस जोडिनु भयो भने त्यसलाई LinkedIn ले कनेक्सन भनेर परिभाषित गर्दछ । तर फेसबुकलाई हेर्नुस् तपाई जोसँग जोडिए पनि तपाई उसको फ्रेन्ड अर्थात साथी बनिहाल्नु हुन्छ । मेरो फेसबुकमा १७०० जना साथी छन् । म त्यसलाई सम्झेर बेला बेला एक्लै हाँस्छु ।
नेपाली शब्दकोषका अनुसार साथीको अर्थ हुन्छ : एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति , सँगी , मित्र अथवा कुनै कामकुरामा साथ दिने , परिआएका बेला मद्दत गर्ने , सहायक , सहयोगी , मदतगार । अब भन्नु तपाईका कति वटा फेसबुक फ्रेन्ड यस साथीको यस परिभाषा भित्र पर्दछन् । मैले भन्न खोजेको के हो भने तपाईका फेसबुकका साथी कनेक्सन हुन् कम्युनिकेसन हैनन् ।
तपाईलाई याद छ मानिस किन चिठ्ठी लेख्थे ? यो घरायसी चिठ्ठीको कुरा हो । आफ्नो गैरहाजिरिमा कसैलाई आफ्नो कमीको अनुभवले नसताओस् भनेर मानिस चिठ्ठी लेख्थे आफु त्यहाँ उपस्थित हुन नसके पनि आफ्नो खबर पुगोस् भन्ने उद्देश्यले । चिठ्ठीले एक अर्कासँग भेट्नका लागि एक सुन्दर माहोल सृजना गर्दथ्यो । हामी पनि अहिले चिठ्ठी लेख्दछौँ । एक दुई वाक्य वा एक दुई शब्दका अनि हाम्रो सामाजिक सञ्जाल नामक हुलाकीले त्यसलाई एकै पलमा गन्तव्य पुर्याइदिन्छ । तर यसले गर्दा के भयो भने मानिसलाई मानिससँग भेट्न भन्दा यहाँ बोल्न सजिलो भइदियो । मानिस अब कम्युनिकेसनमा भन्दा कनेक्सनमा रमाउँन थाले ।
कहिकाँहि कल्पना गर्छु कि मैले च्याटमा बोलिरहेको मानिस एकाएक मेरो सामुन्ने आइदियोस् र मलाई हाउ भाउ सहित आफ्नो कुरा बताइदियोस् । म तिमीलाई माया गर्छु भनेर म हग्दै लेख्न सक्छु । तपाईले सोच्नु भएको छ ? आफुलाई मनैबाट महसुस नभएका कुराहरु पनि मानिसले सामाजिक सञ्जाल अथवा टेक्स्ट मार्फत लेख्न सक्दछ । मलाई बिश्वास गर म एकदमै इमान्दार छु भनेर कसैले चोरी गर्दै गर्दा लेख्न सक्दछ । गुल्जारको एउटा गीत छ नेनो कि मत मानियो रे नेनो कि मत सुनियोनेना ठगलेङ्गे तर त्यो भन्दा ठूलो ठग म्यासेज हो । मलाई मानिस मानिस बीचको संवाद मन पर्छ । उनीहरुले सँगै बसेर एक अर्कालाई खोतलेको मन पर्छ । म कम्युनिकेशनमा बिश्वास राख्दछु ।मलाई लाग्छ म्यासेजले केवल शब्द बोक्दछन् भावना बोक्दैनन् । बोके पनि आधा अधुरा बोक्छदन् । यदि तपाईसँग कसैको विवाद भयो अथवा उसलाई भेट्नुहोस् , ऊ सँग बस्नुहोस् र सम्स्या केलाउनुहोस् । पक्कै पनि समाधान हुनेछ । मानिस च्याटमा अरुसँग भन्दा पनि आफैसँग बोलिरहेको हुन्छ । अरुका शब्दका आफ्नै अर्थ निकालेर त्यसमै अल्मलिइरहेको हुन्छ । कहिले काँहि अरुको पनि सुनिदिनु कति सुन्दर कुरा हुन्छ एकपल्ट सुनिदिएर हेर्नुहोस् । कनेक्ट मात्र हैन बेला बेला कम्युनिकेट पनि गर्नुस् त्यसको बेग्लै मजा हुन्छ ।
अन्त्यमा : १३ दिन सम्म मैले हरेक दिन लेख्ने बाँचा गरेको थिएँ तर त्यो सम्भव नहुने देखियो अब यसैलाईनै अन्तिम लेख मानिदिनुहोला । कार्यव्यस्तता र मसँग ल्याप्टप नहुने भएकाले मेरो जीवनमा यो परिस्थिति आइ परेको हो । म यसका लागि माफी चाहन्छु । जे होस् यो ११ दिनको यात्राले पनि सामाजिक सञ्जालका अनेक पाटाहरु माथि प्रकाश पार्न मद्दत गरेको होला भन्ने आशा राखेको छु र व्यक्तिगत हिसाबले हेर्ने हो भने यसले मलाई पनि आफुसँग अझ नजिक पुर्याएको छ । पढ्दै गर्नुहोला । म यात्रामै छु …. जीवनको र यस यात्रामा मसँग सम्बन्ध गाँस्नु परे वा कुनै कारणबस जोडिनु परेमा कनेक्सनलाई नभएर कम्युनिकेसनलाई प्राथमिकता दिनुहोला ।
- विजय लुइटेल
यहाँ सबैले जोडिनु पर्ने आवश्यकता छैन । यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ ।
ramro chha dai lekhdai janu hola
ReplyDelete“म्यासेजले केवल शब्द बोक्दछन् भावना बोक्दैनन्” यही सोचाइ आएर मैले अरूसँगको connection, देखावटी ति सबै त्यागिदिएकी थिएँ, आफैँले सोचेका तर नलेखिएका शब्द आज पढ्न पाउँदा खुसी लागेको छ।
ReplyDelete