हिजोको कुरो हो । दिउँसो एकपल्ट मैले मेरो फेसबुक र इन्स्टाग्राम दुवैमा एक पल्ट लग इन गरेँ । हेरे सरसरती ५ मिनेट जति कस्तो अनौठो अनौठो लाग्यो । मलाई आफ्नो बिगत सम्झेर एकक्षण ताज्जुब लाग्यो । सोचे केहि दिन , ठ्याक्कै भन्दा १० दिन अघि म जे नभइ बस्न सक्दिन थिएँ एकाएक त्यसको आकर्षण हराएझैँ लाग्यो । सामाजिक सञ्जाल जीवनको एउटा साघुरो पाटो रहेछ म त्यसलाई जीवनको फराकिलो मैदान भनेर अल्मलिएको रहेछु । लत थियो मलाई यसमा कुनै दुईमत छैन । कुनै समय मैले सामाजिक सञ्जाललाई ६ महिना डिलिटनै गरेर बसेको पनि हुँ तर जब चलाउन थालेँ म पुन: यसको लती बनेँ । त्यसपछि यसरी लत लाग्यो कि मैले त्यसलाई छोड्नै सकिन । पहिलो लेखको अन्त्यमा भनेको थिएँ म सामाजिक सञ्जाललाई कुनै चुरोटको लतीले चुरोटेहरुकै बीच रहेर चुरोट छोडेझैँ छोड्न चाहन्छु । यो १३ दिनको यात्रा त्यसैको एउटा प्रयास हो । जारी छ ।
याद छैन पुरानो लेखमा भनेको थिएँ कि थिइन तर मोबाइल मानिसको जीवनलाई सहज बनाउने एउटा प्रविधि मात्र हो । तर त्यसलाई जीवन ठान्नु मानिसको एक भुल हो । म आफ्नो गल्ती स्वीकार्दछु ।मानिसले किनेका अन्य उपकरण जस्तै साइकल , गीतार पार्किङमा र कोठामै बस्दछन् । उनीहरुले मानिसलाई आज मलाई चढ अथवा मलाई बजा भनेर बोलाइ रहन्नन् । तर मोबाइलले सधै मानिसलाई नजिक बोलाउँछ अनि मलाई चला भन्दछ । यो किन हो भने हाम्रो समयको सितन खाएर मात्र जुकरबर्ग दाईको पेटमा अन्न पस्छ । हाम्रो समयनै उनको व्यापार हो । हामीले हेर्ने भिडियो र अनलाइन सामग्रीको बीचमा कुनै एउटा बिज्ञापनलाई जबरजस्ती हुलिदिएर उन्ले पैसो कमाउँछन् । मस्क दाईको पनि त्यही हो सबै सामाजिक सञ्जालका साहुहरु त्यसरीनै आफ्नो बैँक ब्यालेन्स बढाउँछन् । कस्तो ताज्जुबको कुरा छ । अमेरीकाको कुनै एउटा कुनामा बसेर एकाध अपरेटर र पावरफुल कम्प्युटरले फेसबुक कसरी मानिसको मस्तिस्कलाई मथ्न सक्छ । सामाजिक सञ्जालले मलाई चिनाएको छ भन्ने कुरामा मैले प्रश्न गर्नु हुँदैन किनकी त्यो एक अकाट्य सत्य हो । आफ्ना कुरा धेरै भन्दा धेरै मानिस सम्म पुर्याउन , व्यापार बढाउन यो माध्यम सहज छ र फाइदाजनक पनि छ तर यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जुन असर मानिसको चेतनामा पार्दछ त्यसको खतरा यसको फाइदा भन्दा बिशाल छ । भन्छन् कि समुद्रमा रहेको हिँउँको ढिक्काको एकदमै सानो भाग मात्र पानी बाहिर रहन्छ । फेसबुक लगायतका अन्य सामाजिक सञ्जालको खतरा पनि त्यो पानी मुनि डुबेको भाग जस्तै छ । सहजै देखिन्न ।
यो १३ दिनमा मैले अनुभव गरेको कुरा के हो भने मैले सामाजिक सञ्जाललाई मेरो फाइदा अनुरुप चलाउनु पर्छ र यसबाट लाभ उठाउनु पर्छ । यसले मलाई चलाएको दिन मेरो अस्तित्व खतरामा पर्नेछ । म आफुलाई बचाउने प्रयासमा छु । मोबाइलमा एप्लिकेसन हटाइदिएको छु । मेसेन्जर छ मोबाइलमा, बेला बेला साथीभाइ सँग जोडिदिन्छ । जे कामको लागि चलाउन सुरु गरेको थिएँ त्यसैका लागि मात्र प्रयोग गरिरहेको छु । जे होस् मन शान्त छ । नयाँ किसिमको सम्बन्ध गाँसिएको छ प्रविधि र सामाजिक सञ्जालसँग । यो सम्बन्ध पहिलेको भन्दा मिठो छ लाभदायक छ ।
- विजय लुइटेल
यहाँ सबैले जोडिनु पर्ने आवश्यकता छैन । यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ ।
Comments
Post a Comment