अङ्ग्रेजीमा एउटा टर्म छ । FOMO अर्थात ( Fear Of Missing Out ) । परिभाषित गर्दा FOMO यस्तो हुन जान्छ । "anxiety that an exciting or interesting event may currently be happening elsewhere, often aroused by posts seen on social media." नेपालीमा भन्ने हो भने मैले संसारमा भइरहेका रमाइला र महत्वपूर्ण घटनाहरुका बारेमा पो थाहा नपाउने हो कि भन्ने डर । सामाजिक सञ्जालबाट टाढा बस्दा मानिसमा यो डर उत्पन्न हुन्छ भन्ने कुरा धेरै अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । साथीले नानी पायो कि ? साथीभाइ आजकल कहाँ जाँदै छन् । छिमेकी के गर्दै छन् । देशमा के भयो । नयाँ मिम के के आए बजारमा । को रातारात परिचीत भयो । को हाँसोको पात्र बन्यो । यी सबै कुराबाट बञ्चित हुन्छु कि भन्ने डरले मानिसलाई दिन रात सताउछ । संसारको यो गति सँग तालमेल मिलाउन मानिस सधै प्रयासरत देखिन्छ । तर यसो गर्दा उसको जीवनको गतिको भने के हुन्छ ?
आज सामाजिक संजालको वाल नचिहाएको छैटौँ दिन । म छुट्छु भन्ने डर मनमा एक थोपो पनि पलाएको छैन । मलाई लाग्छ मानिस असिमित सम्भावनाहरु बोकेर आएको तर पनि संसारको बिराटता हेर्ने हो भने उसका ति सम्भावनाहरु सिमित लाग्दछन् । मैले कृष्णको जीवनसँग आफुलाई दाँजेँ भने म जीवनभर असन्तुष्ट रहन्छु । मलाई लाग्छ जति कोसिस गरे पनि मैले यस जीवनमा सिमित कुराहरुलाई मात्र जान्न सक्छु र तिनीहरुको खबर राख्न सक्छु । मानिस केवल एक धुलोको कण हो यो बिशाल श्रृष्टिमा ।
मैले अहिले यहाँ यो लेख लेखिरहँदा तपाई पाठक केहि त गर्दै हुनुहुन्थ्यो होला । तर त्यो तपाई सँगै राख्नु होला । यो बिशाल संसारमा मेरो तपाईसँग कुनै दिन भेट भयो भने म तपाईसँग केहिबेर गफिनेछु । सामाजिक सञ्जालले हामीलाई संसारसँग जोड्दछ यो कुरालाई म नकार्न सक्दिन । मानिस मानिस बीचको भौतिक दुरीलाई शुन्य तुल्य बनाउनलाई सामाजिक सञ्जालको अह्म भुमिका रहेको छ तर म यहाँ जे कुरा गर्दै छु त्यो भावनात्मक दुरीको कुरा हो । मोबाइल वा कम्प्युटरको पर्दामा देखिने संसार यति जीवन्त लाग्दछ कि हामी त्यसलाई वास्तविकता ठानि रहेका हुन्छौँ । यहाँ आएर समस्या उत्पन्न भइदिन्छ ।
मेरो छिमेकमा कसैको छोरा जन्मियो भने म उसलाई फेसबुक र इन्स्टाग्राम मार्फत बधाई दिन्छु तर दुई मिनेट हिँडेर गएर म त्यो बच्चाको मुहार हेर्न जान्न । मलाई फेसबुकले पहिल्यै रिकमेन्ड गरेको कमेन्ट , Congratulations both of you लगायतका कुराहरु पोस्टाउन सजिलो हुन जान्छ । हुँदा हुँदा अहिले मानिसको मृत्युमा आधा मलामी त फेसबुकमै जान्छन् । Rest In Peace , Gone too soon लगायतका शब्दहरुको मलामी कमेन्ट बक्समा प्रसस्त देख्न सकिन्छन् । थाहा छ साँच्चिकै Fear of Missing Out के हो ?
छिमेकमा जन्मिएको बच्चाको कलिलो हाँसो हेर्न नपाउनु । बच्चा जन्मिए पछि बुबा आमामा देखिएको खुसीलाई समिपमा रहेर आत्मसाथ गर्नु । कोहि मर्दा , कहिले नफर्कने उसलाई एक पल्ट अन्तिम बिदाइ दिन नपाउनु । मेरो लागि मिसिङ आउट त्यो हो ।
मानिस जतिनै कोसिस गरोस् तर उसले सबै कुरा भ्याउन सक्दैन । त्यो सामाजिक सञ्जालको पर्दा मिथ्या हो झुटो हो । मलाई जीवनबाट मिस आउट भएर त्यसको रफतार समाउनु छैन । जीवनको रफतार उत्तिकै सुन्दर छ म यसलाई खुलेर जिउँन चाहन्छु । राजेश दाई अर्थात राजेश हमालको यति बेला राम्रो जोक बजारमा आएको होला । या कुनै सेलिब्रेटीको नग्न तस्विर भाइरल भएको होला वा भनौँ आज शाहरुख खान मन्नतको बार्दलीमा उभिएर हात हल्लाइरहेका होलान । थाहा छैन फेसबुक वा सामाजिक संजालमा के भइरहेको छ । अहिले बिहानको ५ ; ५३ बजेको छ । म २५ मिनेट देखि यो लेख लेख्दैछु र यस दौरान मेरो कुकुर उठेर बाहिर जान फुर्तीफार्ती गर्दै छ । एउटा कुकुरको आयु ९ देखि १३ बर्ष हुन्छ अरे । मेरो कुकुर ३ बर्षको भयो । अब म सँग त्यो सँग खेल्नका लागि केवल ६ ७ बर्षको समय मात्र बाँकी छ । मलाई त्यसमा मिस आउट हुनु छैन । मलाई डर छ त केवल जिउँन सक्दिन कि भनेर । खबरको लोभ मैले अब गर्न छोडिदिएको छु ।
-विजय लुइटेल
यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ ।
Nice 👍🏼
ReplyDeleteThank you 🙏❤️
Delete