Skip to main content

जादुमय खप्तड

 

Photo : Amir Shrestha @nepal8thwonder

२०७७ साल, चैत्र महिनाको एक बिहान खप्तडका सयौँ पाटन , त्रिवेणी मन्दिर , सहस्रलिङ्ग र बाबा आश्रम, सबै एकैसाथ हिउँले सेताम्मे भए । त्यो मेरो जीवनको पहिलो हिउँ अनुभव थियो । आँखा अगाडि नेपथ्य ब्यान्डको , आकाशबाट के उडी आयो भेडाको ऊन जस्तो नामको गीत खसिरहेको थियो । प्रकृतिले पनि गीत गाउँछ भन्ने कुरा मैले त्यही दिन थाहा पाएको थिएँ । यस समय, २०७९ सालको बर्खाका दिन काटी रहँदा पनि म त्यो पल उत्तिकै स्प्रस्ट सम्झन सक्छु । भाग्यलेनै भनौ २०७७ साल र २०७९ सालको अन्तरालमा मैले दुई पल्ट खप्तड भ्रमण गर्ने मौका पाएँ । एकपल्ट २०७७ साल चैत्रमा र अर्को २०७९ साल असारमा । म भाग्यमानी छु किनभने मसँग सेताम्मे र हराभरा दुबै खप्तडको मिठा अनुभव छन् ।


मेरो पहिलो खप्तड यात्रा, अघिल्लो जागिरबाट बचाएको केही हजार रुपैयाको सहयोगमा जीवनको नीरस नियमिततालाई भत्काउन सकिन्छ कि भनेर गरिएको एउटा प्रयास थियो । दोस्रो पल्ट खप्तड जाँदा म ट्राभल राइटर भइ सकेको थिएँ । मेरो कलम माथि देशका धेरै भन्दा धेरै मानिस सम्म खप्तडलाई पुर्याउने जिम्मेवारी थियो । जिम्मेवारीले थिचिँदा पछिल्लो पटक मैले खप्तडका बिभिन्न पाटोहरुको अध्ययन गर्ने मौका पाएँ । नियमिततालाई भत्काउने उद्देश्यले गरेको पहिलो यात्रामा भने आजीवन साथ रह्ने जीवन दर्शन सिक्ने मौका मिलेको थियो । यो लेख तिनै दुई अनुभवको मिश्रण हो ।

 

२०७७ साल अघिको म अर्कै थिएँ । मेरो चेतनाले मलाई यसरी बाँधेको थियो कि म जीवनको उडान भर्न डराउथेँ । खप्तडले मलाई पन्छी बनायो । कसैले कतै जाउँ , केही नयाँ गरौँ भन्दा म सोझै तिनलाई नकारी दिन्थे । मसँग आफ्नो आनन्द त्याग्ने शक्ति थिएन । खप्तडले त्यो पनि सिकायो । 


२०७७ साल चैत्रमा खप्तडबाट कोल्टी हुँदै रारा ताल जान म र मेरो साथी सुसान तयार थियौँ । झोला पनि ठिक्क थियो । तर परिस्थिति हामीलाई त्यसो गर्न दिने सोचमा रहेनछ । एउटा आर्मी दाई आएर हामीलाई हिउँ परेका बेला कतै हिँड्न नमिल्ने कुरा बताउनु भयो । कारण सोध्दा उहाँले भन्नु भयो हिउँ परेका बेला बाटो छुट्याउँन सकिँदैन त्यही माथी तपाईहरु दुई जना मात्र हुनुहुन्छ । दुई जना मात्र यस्तो समयमा हिँड्दा खतरा हुन्छ । यस्तो बेला तपाईहरुलाई हामीले जान दिनै मिल्दैन । हिउँ देखेर उज्यालिएको हाम्रो मुहारमा तब एकाएक कालो बादल छाएको थियो । सिमित दिन अनि सिमित रक़म बोकेर आएका हाम्रा लागि त्यो शुभ समाचार थिएन । 

Photo : Amir Shrestha@Nepal8thwonder

एक दिन अघि खप्तडमै भेटिएका कमल सङ्घर्ष अनुरुप खड़का अनि रुप बहादुर कडायत त्यही दिन बाजुरा हुँदै अछाम झर्ने सुरसारमा रहेछन् । उनीहरुसँगको गफमा थाहा पाएँ अछामकै मानिस भएकाले आर्मीले तिनलाई सजिलै खप्तडबाट निस्कन दिने रहेछन् । गफकै सिलसिलामा हामीले हाम्रो रारा जाने योजना र हिउँका कारण आइ लागेको समस्या तिनलाई सुनायौ । कमल सङ्घर्षले तब हामीलाई उनीसँगै हिँड्न अनुरोध गरे । सरहरुलाई म अछाम सम्म पुर्याइदिन्छु त्यहाँ एक दिन मेरो भाइको होटलमा बस्नु होला अनि अर्को दिन राराको गाडी साइखोलाबाट चढाउने जिम्मा पनि मै लिउँला भनेर भने । उनको त्यो सुझाबले हामीलाई खुसी दिन पर्ने थियो तर त्यस्तो भएन । म र मेरो साथीले त्यही क्षण एक अर्कालाई मुखामुख गर्यौ । एक दिन अघि मात्र चिनेको मान्छेको पछि लागेर जान ठीक होला त ? भनेर मनले हामीलाई बारम्बार प्रश्न गरिरह्यो । एक मनले लाग्यो अब रारा जाने रहरलाई माया मारेर आएकै बाटो काठमान्डौँ फर्कनुनै बेस हुन्नेछ । तर फेरी चेतनाले भन्यो “ जीवनको नीरस नियमिततालाई भत्काउछु भनेर हिँडेको मान्छे नयाँपन सँग डराएको सुहाएन “। धेरै बेरको मन र चेतनको दोहोरी पछि त्यो दिन मनलाई चेतनाले हरायो अनि हामी अछाम तर्फ लाग्यौ । 


अहिले पनि मेरो मोबाइलमा कमल सङ्घर्ष नामको एउटा मोबाइल नम्बर छ । हामी बेला बेला फोनबाट जोडिन्छौँ । कहिले काँही खप्तडका सम्झनाहरु पनि केलाउँछौँ । गज्जबको दोस्ती छ हाम्रो । नयाँपनसँग डराउनेले न सम्झनानै जोड्छ न त सम्बन्धनै भन्ने कुरा मलाई खप्तडले सिकायो । खप्तडले मलाई दिएको सबै भन्दा ठूलो उपहार यही जीवन दर्शन हो । 


अछाम जानु अघिल्लो रात क्यान्टिनका दाइहरुले बालेको आगो छेउमा बसेर जिउ तताउदै थियौँ । पोखराको पृथ्वी नारायण क्याम्पसमा कानुन पढ्ने ६० जनाको टोली पनि हामी सँगै थियो । झिग्रानमा खाना खाँदा देखि भेटेका उनीहरु मध्ये केही सँग हामी एकै दिनमा निकै नजिक भइसकेका थियौ । पुर्वी नेपालको इलाममा जन्मिएको मलाई खप्तडले पश्चिमको ठूलो जमात सँग भेट जुराइदियो । त्यस रात आगो छेउ बसेर मैले कसैसँग पुर्वेली र पश्चिमेलीको बोलीको फरकका बारेमा गफ गरेको थिएँ । कुरै कुरामा ऊ सँग आँखा जुधाएको थिएँ । एक अर्कालाई हेरेर हामी मुस्कुराएका थियौ । ती सबै सम्झना अझै ताजै छन् । त्यसरी हरेक दिन म नयाँ साथी बनाउँदै थिएँ । नयाँपन त्यो यात्राको सुरुवात देखिनै मेरो नजिक कुनै न कुनै बहानमा आउन खोजिरहेको थियो । त्यो नयाँपनका कारण आफुलाई पनि मैले नयाँ पाउँदै गएको थिएँ । मेरो लागि भनेर नयाँपन लिएर आएको थियो खप्तड ।


Photo : Bijaya Luintel @Nepal8thwonder 

काठमान्डौबाट खप्तड पुग्न सजिलो छैन । ८५० किलोमिटर गाडीको यात्रा गरेर डोटीको झिग्राना पुगी अझै एक दिन पैदल यात्रा गरेपछि मात्र यो सुन्दर भुमि देख्न पाइन्छ । खप्तड , खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । सामान्य गौचरण मात्र रहेको यो क्षेत्र २०४२ सालमा राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको थियो । भनिन्छ त्यस ठाँउलाई राष्ट्रिय निकुञ्जको रुपमा स्थापना गर्न खप्तड बाबाको ठूलो हात रहेको छ । 


पहिलो पल्ट खप्तड जानु अघि खप्तड मलाई केवल एउटा गौचरण मात्र हो जस्तो लाग्थ्यो । त्यहाँ हरिया पाटन बाहेक अरु घुम्ने ठाँउ छन् भन्ने कुराको सम्म मलाई ज्ञान थिएन । मलाई त बस कुनै नयाँ ठाँउ पुगेर आफैमा हराएको आफुलाई खोज्नु थियो । त्यही गर्नका लागि खप्तड घुम्न निस्किएको थिएँ । त्यहाँ पुगेपछि भनेँ निकुञ्ज भित्रका घुम्ने ठाँउका बारेमा बुझ्न करै लाग्यो । खप्तडक आर्मी ब्यारेक भएको ठाँउ छेडे पाटन त्यहाँको एक मात्र ठाँउ हो जहाँ मानिसले बस्ने सुबिधा पाउँछन् । खप्तडका अन्य घुम्ने ठाँउ त्यसैका वरिपरि छन् । त्यहाँ क्यान्टिन चलाएर बस्ने दाइबाट घुम्ने ठाँउको सुची बनाइ हामी पहिलो पल्ट यी पाँच ठाँउ घुम्न निस्किएका थियौँ । 


खापर / खप्तड दह : बाजुरा 

छेडे पाटनबाट एक घण्टाको पैदल यात्रा 

२०७९ असार


Photo : Amir Shrestha @Nepal8thwonder

भनिन्छ खप्तड दहको एक छेउमा देवताको बास छ र अर्कों छेउमा राक्षसको । पहिलो पल्ट यो कुरा सुन्दा मलाई बिश्वास लागेन । सोचे यति सुन्दर पोखरीमा कसरी राक्षसको बास हुन सक्छ ? दहमा चराचुरुङ्गी चिरबिराएको बाहेक अरु केही आवाज थिएन । जङ्गल माँझ रहेको त्यो दह त्यही आवाज सुन्दै मस्त निदाइरहेको थियो । छेउको पहेलो कुर्सीमा बसेर केही बेर त्यो शान्त दहलाई हेर्दा एकाएक म त्यो दहलाई आफैसँग दाज्न पुगेछु । मलाई लाग्यो म पनि खप्तड दहझैँ आफुमा दैवी र आसुरी दुबै गुण लिएर हिँडेको छु  । यी दुबै चिजलाई आफुमा समेटर पनि कोही सुन्दर बन्न सक्छ भन्ने कुरा मलाई खप्तड दहले सिकाउँदै थियो । अहिले पनि जब मेरो चेतनामा आसुरी गुण हावी हुन्छ र म अनौठो व्यवहार गर्न थाल्छु तब म खप्तड दह सम्झँदै आफैलाई सम्झाउँछु, भित्र भित्रै राक्षस बाँचिरहँदा पनि खप्तड दह त्यति शान्त बस्न सक्छ भने मैले पनि सक्नु पर्छ । चार जिल्ला डोटी , बझाङ , बाजुरा र अछामका मानिसले खापरे मस्टको पुजा गर्नेका लागि धाउने त्यो धार्मिक दह मेरो लागि चाँहि आफ्नै प्रतिबिम्ब बनेर उभिएको छ । 


सहस्रलिङ्ग : अछाम

छेडे पाटनबाट तीन घण्टाको पैदल यात्रा 

२०७७ चैत्र

Photo : Amir Shrestha @Nepal8thwonder

सहस्रलिङ्ग खप्तड राष्ट्रिय निकुन्जकै सबै भन्दा अग्लो स्थान हो , यो धार्मिक स्थल समुन्द्र सतहबाट ३२०० मिटर उचाईमा रहेको छ । बिस्तारै हिँड्नेलाई त दिनैभर लाग्छ त्यहाँ पुगेर छेडे पाटन फर्कन । शिव भग्वानको मन्दिर सहस्रलिङ्ग एउटा ठूलो चट्टान माथि बनेको छ जहाँ मानिहरु हरेक साल गंगा दशहराको दिन भेला भएर पुजा लगाउने गर्दछन् । यहाँ आएर दर्शन गर्दा मानिसको मनोकामना पुरा भइ मनमा शान्ति छाउने बिश्वास रहेको छ । यो मन्दिरको इतिहासको बारेमा भने म अझै अनजान छु । स्थानियलाई सोध्दा " खै बाबु थाहा छैन हाम्रा बाजे बराजुहरुको पाला देखी हामी पुजा गर्दै आ हुम " मात्र भन्दछन् । थाहा छैन कहाँ र कता छ यसको इतिहास तर त्यसलाई खोज्न जरुरी छ । 


मेरो देब्रे खुट्टामा नसाले त्रिशुलको एउटा आकृति बनाएको छ । केहि बर्ष अघि काठमान्डौमा शिवको मन्दिर गएर आएको रात मलाई ऐठन परेको थियो ।  ऐठन परेको भोली पल्ट उठेर मैले मेरो खुट्टाको त्रिशुललाई दोसी ठहर्याए । त्यस दिन देखि मलाई शिवको मन्दिरमा छिर्न अलिक असहज लाग्थ्यो । त्यही अन्धविश्वास बोकेर डराउँदै पसेको थिएँ सहस्रलिङ्ग भित्र ।


नसाले बनेको खुट्टाको त्रिशुल र ऐठन मेरो अन्धविश्वानै रहेछ । त्यसरात म सहस्रलिङ्गबाट फर्केर खप्तडमा मिठो निन्द्रा निदाएँ । जे होस् एउटा यात्राले जन्माएको अन्धविश्वासलाई अर्को यात्रले मारिदिएको थियो । राम्रै भएको छ, अचेल म शिव मन्दिर पस्नु अघि त्यस्ता केहि कुरै सोच्दिन । यात्राले कहिलेकाँही नसोच्न पनि सिकाउने रहेछ । 

  

त्रिवेणी मन्दिर : डोटी 

सहस्रलिङ्गबाट पचास मिनेट ओरालो पैदल यात्रा 

२०७९ असार

Photo : Amir Shrestha@Nepal8thwonder

घाम अस्ताउने बेला त्रिवेणी मन्दिर पुगियो भने स्वर्ग देखिन्छ । अस्ताउँदो घामको सुनौला किरण जब मन्दिर अनि मन्दिरसँगै जोडिएर बगेको खोलामा पर्छ तब समय रोकियोसझैँ लाग्छ । दुई ठूला खोला र एउटा नजिकैको कुटीबाट बगेको सानु कुलो एकै ठाँउ मिसिएको भएका कारणले मन्दिर छेउ बग्ने खोलालाई त्रिवेणी भनिएको हो भनेँ त्यही त्रिवेणी खोलाको काखमा बसेका कारण त्यहाँको मन्दिरलाई त्रिवेणी मन्दिर भनिएको हो । खप्तड बाबा त्रिवेणीमा सन्ध्या स्नान गरेर मात्र भोजन गर्नु हुन्थ्यो भन्ने कुरा सुनेपछि मलाई त्यो ठाँउ झन् धार्मिक लाग्यो । सहस्रलिङ्गझै गंगा दशहराकै दिन यस मन्दिरमा पनि शिवको पुजा गरिदो रहेछ । अस्ताउँदो घामको किरणमा रंगीएको त्यो त्रिवेणी खोलालाई नजिक्को काठको पुलमा बसेर हेर्दा मैले त्यदिन खोलामा सन्ध्या स्नान गरिरहेका खप्तड बाबालाई कल्पिएँ । बाबाले नुहाएर सक्दा रात पर्न आँटेको थियो । बाबा र म त्यसपछि छेडे पाटन तर्फ लाग्यौ । छेडे पाटन पुगेपछि म होटल तर्फ लागेँ अनि बाबा नजिकैको आश्रम तर्फ । 


खप्तड बाबा आश्रम : बझाङ

 छेडे पाटनबाट तीस मिनेट पैदल यात्रा 

२०७९ असार


खप्तड बाबा आश्रमको मुख्य द्वारकै छेउमा खप्तड बाबाको प्रतिमा राखिएको छ । त्यहाँ पुग्ने मानिसहरु त्यही प्रतिमालाई ढोगेर आशिर्वाद लिने गर्दछन् । बाबा आश्रम भित्र भने बाबाले ओछ्याउने गरेको बाघको छाला अनि उनले प्रयोग गर्ने गरेका सामानहरु देख्न पाइन्छ । खप्तड बाबा स्वामी सच्चितानन्द नामले पनि प्रख्यात छन् । भारतको कस्मिरमा जन्मेका उनी नेपालको पुर्वी भाग हुँदै खप्तड आएर बसेको भन्ने इतिहासले बताउँछ । उनले  दिएको जडिबुटी चिकित्सा, योगा र जीवन दर्शनको ज्ञानका कारण उनी आजका दिन सम्म पनि उतिकै प्रख्यात छन् । धर्म बिज्ञान , बिचार बिज्ञान अनि म र मेरो कर्तव्य जस्ता उनका अरु कृति पनि प्रकाशित छन् । 


घोडा दाउन्न पाटन : बझाङ

खप्तड बाबा आश्रमबाट पन्द्र मिनेट पैदल यात्रा 

२०७९ असार

Photo : Amir Shrestha@Nepal8thwonder

भनिन्छ खप्तडमा साना र ठूला गरेर दुई सय पाटन छन् । ती मध्ये एक हो घोड़ा दाउन्न पाटन । हरियो चौर अनि हरिया मसिना पहाडका थुम्काहरु । स्वतन्त्र चरिरहेका चौपाया । केही अस्थायी गोठ अनि गोठमा बसेका चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीका स्थानिय । घोडा दाउन्न अनि खप्तडका अन्य अरु पाटनमा असार र साउनको महिनामा यिनै कुरा देख्न सकिन्छ । नजिकका गाउँबाट असार साउन महिनमा चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीका मानिस आफ्नो गाइ बस्नु लिएर खप्तड उक्लिन्छन् । निकुञ्नलाई अस्थायी गोठ हाले वापत पाँच सय दस्तुर तिर्छन् र दुई तिन महिनाको लागि त्यतै बस्दछन् । भेडा र बाख्रालाई दुई महिना चराए वापत निकुञ्जलाई प्रति भेडा र बाख्रा रु १० दस्तुर बुझाउनु पर्छ । भैँसी चराए बापत प्रति भैँसी रु ३० बुझाउनु पर्छ भने घोडाको प्रति घोडा रु ५० बुझाउनु पर्दछ । गाई चाँहि राष्ट्रिय जनावर भएका कारणले त्यसलाई चराएको कुनै दस्तु लाग्दैन । मेरो लागि घोडा दाउन्न कुनै संगीत भन्दा कम छैन । भैँसीका घाटीमा बाधिएका घण्टी सुनेर म दिन भरि उतै हराइदिन सक्छु । म मात्र हैन जो कोही म जसरीनै हराउन सक्छ । त्यहाँ चरेका भैँसीका दहि दुधको स्वाद यो जिब्रोले अझै बिर्सिएको छैन । फेरी कहिले पुगिने हो थाहा छैन । आफ्नो केहि अंश त्यतै कतै छुटेको आभाष भइरहन्छ । 


खप्तडमा एउटा यात्रीलाई चाहिने सबै कुराहरु छन् । सुन्दरता खोज्नेका लागि हरिया पाटन , दह , जङ्गल र खोला नाला छन् । आध्यात्म खोज्नेका लागि खप्तड बाबा छन् उनको आश्रम छ । भगवान खोज्नेका लागि सहस्रलिङ्ग छ , त्रिवेणी मन्दिर छ सिता पाइला छ अनि नाँग डुङ्गा छ । शान्ति खोज्नेका लागि शान्ति छ , एकान्त छ । सम्बन्ध खोज्नेका लागि चार जिल्लाका स्थानिय छन् , तिनको उदारता छ । बन्यजन्तु खोज्नेका लागि रतुवा मृग , कस्तुरी मृग , घोरल , चितुवा , जङ्गली कुकुर र स्थाल छन् । स्थाल रोएको त रातै भर सुन्न सकिन्छ तिनलाई नजिकैबाट गुज्रेको हेर्न सकिन्छ । पन्छी खोज्नेलाई डाँफे र मुनाल छन् । स्वाद खोज्नेलाई भाँगोको अचार छ, मिठो दही दुध छ । यात्रीलाई अरु के चाहिन्छ । 



Photo : Amir Shrestha@Nepal8thwonder

साँच्चै भन्दा चार जिल्ला अछाम डोटी बझाङ र बाजुरालाई छोएर बीचमा बसेको खप्तड कुनै रुमानी सपनाझै छ । जसलाई सधै देखिरहुँ लाग्छ । कुनै प्रियसीको मनझै छ । जहाँ सधै बसिरहुँ लाग्छ । तर यात्री त्यती भाग्यमानी हुँदैन कि उ सधै एक ठाँउ बस्न सकोस् । खुब जानेको छ खप्तडले त्यस्ता यात्रीको पनि मन बुझाउन । यात्री सधै खप्तडमा बस्न सक्दैन भनेर खप्तड उसको मनमा सुटुक्क बसिदिन्छ । खप्तड बसेपछि मेरो मन झन हलुका भएको छ । मनले उड्न सिकेको छ । 


खप्तड कसरी पुग्न सकिन्छ ? 


काठमान्डौबाट अत्तरियाको बस लाग्छ । त्यहाँ पुगेर डोटीको माइक्रो प्रकेर डोटीको सिलगढी पुग्न सकिन्छ । त्यहाँ बाट कुने गाडी रिजर्भ गरेर झिग्राना सम्म लैजान सकिन्छ । त्यसो गर्ने तीन चार दिन लाग्छ । अलिक छिटो जाने मन भए  काठमान्डौबाट हवाईजहाज चढेर धनगढी जान सकिन्छ । त्यहाँ बाट अत्तरिया बीस मिनेटको दुरीमा छ । हवाईजहाजमा एका बिहानै उडियो भने साँझ सिलगढी पुग्न सकिन्छ । झिग्राना पुगे पछि भने एक दिन हिँड्न पर्छ खप्तड पुग्न । बिहान झिग्रानमा नास्ता खाएर दिउँसो बीचपानीमा भात खाँदै साझपख खप्तडनै पुत्न सकिन्छ । 


कति खर्च लाग्छ ? 

प्रति व्यक्ति लगभग बीस देखि पच्चीस हजार नेपाली रुपैया । 


कुन समय जाने ? 

असार साउन र भदौ महिना । यो बेला चौपाया र अस्थायी गोठ हालेर बसेका मान्छे भेटिन्छन् । दुध दही खान पाइन्छ । अनेकौ फ़ुल अनि हरियाली पनि देख्न पाइन्छ । जानै मन भए त जहिले भ्याइन्छ त्यही बेला गए भयो । घुम्ने सबै भन्दा राम्रो समय, तपाई घुम्न निसकेकै दिन हुन्छ । 


खपतडलाई भिडियो मार्फत हेरेर थप जानकारी लिनका लागि यो लिङ्कमा जानुहोला : https://youtu.be/h6Ocify-CUA



Comments

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

स्वमन्थन : सामाजिक सञ्जाल

We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ