म त्यस्तो केटी हैन ।

Photo by : Andrea Piacquadio from Pexels

रात, समयको साच्चै अनौठो प्रहर हो । धेरै थोक लिएर आउँछ रातले , कोही बेला चाहना लिएर आउँछ , कोही बेला सपना, कोही बेला सम्झना , कोही बेला एक्लोपन अनि कोही बेला शुन्यता पनि । मेरो लागि भनेर रात आजसम्म कहिल्यै एक्लै आएको छैन , केही न केही उसको साथ जरूर हुन्छ । दिनभर साथीभाइसँग घुमेर फर्कदा रात एक्लोपनको यर्थााथ लिएर पर्खीरहन्छ , दिनभर एक्लै बसेको दिन रातले साथीभाइको सम्झना लिएर आउँछ । रात एक हिसाबले मेरो पर्सनल असिस्टेन्ट जस्तो छ जसले दिनमा मैले बिर्सीएका कुरा मलाई बिस्तारमा, बिस्तरामा बताउँछ । एक रात त रातले अचम्मै गर्यो , सधै निर्जीव भावना र सम्झना मात्र बोक्ने रात एउटा सजिव आकृति बोकेर मेरो सामु उभियो ।  

जुनेली रात थियो , आधा जुनको । म जुनलाई हेरिरहेको थिएँ , जुन एउटा डाँडाभन्दा थोरै माथि आकाशमा झुन्डिएर मलाई हेरिरहेको थियो । त्यो डाँडाको ठ्याक्कै तलबाट एउटा खोलो बगिरहेको थियो , सुनकोसी खोलो , म सुकुटे विच रिसोर्टमा थिएँ । अनि म त्यही खोलोको किनारमा एउटा विच चेयरमा ढल्केर बियर पिउँदै थिएँ , टुबोर्ग बियर । छेउमा देब्रेपट्टि, एउटा मेरो जस्तै खाली चेयर थियो । थाहा छैन रातले के लिएर आएको थियो , एक्लोपन या सम्झना म अहिले त्यती राम्रोसँग भन्न सक्दिन , अरिजित सिंहको आयत गित सुनिरहेको थिएँ । त्यतीकैमा आवाज आयो “Nice song ” । पछाडि फर्केर हेरेँ मेरो चेयरको छेउमा एउटी रातो टिर्सट र निलो हट प्यान्टमा सजिएकी एउटी केटी हातमा बियर बोकेर मलाई हेरिहेकी थिइँ । केही बेर हेरेपछि भने, Thank you. उसले मेरो छेउको चेयर देखाउँदै भनी यहाँ बसौ ?  मैले हुन्छको भावमा टाउको हल्लाएँ । त्यही केटी थिइँ रातले मेरो अगाडि उभ्याएको एउटा सजीव आकृति । 

केटी बिस्तारै अगाडि आइ अनि आफ्नो थाइकट कपालले आधा जुन छेक्दै छेउको चेयरमा बसी । ऊ बसेपछि जुन फेरी देखियो । केही पनि बोलिन म ।

केही बेर पछि बियरको एक घुट्को पिएर उसले भनी “ आज जुन साह्रै राम्रो देखिएको छ है ?”

जुनलाईनै हेरेर भनेँ, राम्रो त राम्रो छ अझ पुरै चन्द्रमा भएको भए झन राम्रो हुन्थ्यो । 

आफु जस्तो भएको भएर होला मलाई त आधा जुननै मन पर्छ ।

आँफु जस्तो भन्नाले?

आधा, अधुरो के, अब कसरी भन्नु , यस्तो जुन देख्दा यस्को आधा टुक्रा आँफे हो जस्तो लाग्छ मलाई । 

कति भयो ? अनायासनै मेरो मुखबाट निस्कियो 

एक बर्ष , बिर्सन सकेकी छैन ।

बिर्सन त कहाँ सकिन्छ र नसम्झिने कोसिस सम्म गर्न सकिन्छ । अनि साथीहरू खै तिम्रो ?

खै सुतिसके होला , मलाई निद्रै आएन । तिम्रो कति भयो ?

आठ महिना , बिस्तारै फिक्का हुँदैछन् सम्झना ।

कति समय लाग्ला मान्छे बिर्सन भन्न सक्छौ ?

बिर्सैको दिन भनौला ।

अनि सम्झिन नि?

दुई बोतल बियर खान जति समय लाग्छ त्यती नै । कसैलाई त तीन चार पनि लाग्छ ।

कति बोतल भयो ? खाएपछि केही गलत त गर्नै गरेको छैन नि ? 

यो चौथो हो । गल्ती सम्झेर खाएको, गल्ती गर्न होइन ।

तिम्रो नि ? के मलाई तिमीबाट खतरा छ ?

ओ प्लीज, म त्यस्तो केटी हैन । भर्खर दोस्रो हो ।

कस्तो केटी हौ त तिमी?

भनेँ त त्यो आधा जुन जस्तो । 

बाँकी आधा खै?

थाहै छैन । 

खोजेनौ?

हराएको भए पो खोज्नु , भागेको हो ।

त्यसो भए त ठिक छ ।

तिमीचै कस्तो केटा हौ?

बिस्तारै देब्रे हात उठाएँ अनि आधा जुनलाई हत्केलाले छेकेँ , यो अन्धकार जस्तो ।

उसले मेरो हात समाएर तल झारी, उज्यालो कहिले छेक्नु हुन्न । 

बतास सुस्तरी चलिरहेको थियो , छेउमा खोला सुसाइरहको आवाज कानमा आएर ठोक्किरहेको थियो । पहिले उसले समाएको मेरो हातलाई हेरेँ अनि उसलाइ । हामीले केहीबेर एक अर्काका आखाँमा हेर्यौ , हाम्रा हात दुईटा विच चेयरको बीचमा बाधिएर बसिरहे, कसैले हात छोड्न जरूरी सम्झेन । 

उसका आँखा हेरेर भनेँ , तिम्रा आँखा किन यति रित्ता छन् ?

हाँस्दै भनी , सपना देखाउँने मान्छे नभएर होला । अनि तिम्रा पनि त कम खाली छैनन् नि आँखा किन हो ?

सपना बगेर होला । 

रोकेनौ?

थाहै नपाई बगेछ, थाहा पाएको भए त सायद रोक्थेँ । 

अब के गर्छौ?

केहीबेर सोचेँ उत्तर आएन अनि भनेँ : इ बियर खान्छु,, दाहिने हातले बियर उठाएर अन्तिम घुट्को निलेँ । अनि सोधिदिएँ : तिमी के गर्छौ ?

म पनि बियर खान्छु भन्दै उसले देब्रे हातले बियर समाइ अनि एक घुट्को निली । म हाँसिदिएँ ।

आज के यतै आधा जुन हेरेर रात बिताउँने सोच छ हो ? हाँस्दै सोधी उसले । 

अब त आँधा जुन कहाँ भयो र आकाशमा आधा छ मसँग आधा , पुरा भयो नि हैन र ?

थाहाँ छैन त्यसपछि हामी कसरी नजिक भयौ सायद ऊ अलिकति तन्केर मेरो छेउ आउँन खोजी म अलिकति तन्केर उसको छेउ जान खोजेँ अनि विच चेयरको बीचमा हाम्रा ओठ जोडिए, केही क्षणका लागि । हुन्न भन्न सायद हामी दुबैले जरूरी सम्झेनै । हामी आफ्नो चेयरमा फर्केपछि उसको मोबाइलको घण्टी बज्यो । उसले बिस्तारै मेरो हातबाट हात छुटाइ र गोजीबाट मोबाइल झिकी । म्यासेज पढेजस्तो गरी, अनि मोबाइल हातमै लिएर बियरको बोतल उठाइ । एक घुट्को बियर पिइ, मलाई नहेरिकनै चेयरबाट उठी । 

उठेपछि एकपल्ट मरो मुहारमा हेरेर भनी मिस्टर अन्धकार , बाइ , गुड नाइट  अनि सरासर जताबाट आएको थिइँ त्यतै फर्की । मैले केहीबेर ऊ गएको हेरिहेँ । मोबाइलमा गजिनीको केसे मुझे तुम गीत बजिरहेको थियो । मोबाइलको साउन्ड अलिकति ठूलो बनाएँ अनि आकाशको आधा जुन हेरिरहेँ । सोचिरहेँ रात, समयको साच्चै अनौठो प्रहर हो, धेरै थोक लिएर आउँछ रातले .......

- बिजय लुईटेल 

Comments

Post a Comment