Photo by: Pixabay |
सपना देखेको थिएँ वा यर्थाथनै थियो, यसै भन्न सक्दिन । हिजो रातीको कुरा हो, आँखा खोलेरै देखेको जस्तो लाग्छ , सपनानै पो थियो कि जस्तो पनि लाग्छ, ब्युझेको थिएँ जस्तो पनि लाग्छ, निदाइरहेकै थिएँ जस्तो पनि लाग्छ । हिजै राति त हो मैले त्यो रातो चप्पललाई झुल झुन्डाउने हुकमा डोरीको पासो लाएर झुन्डेको देखेको । सपनानै हो जस्तो लाग्छ, तर फेरी सोच्छु सायद ब्युझेकै थिएँ तैपनि जाबो एउटा चप्पलको जोडी न हो भनेर फेरी सुतेँ कि ? यदि मान्छे झुन्डेको देखेको भए झस्केर उठ्ने थिएँ होला अनि थाहा हुने थियो सपना हो कि विपना भनेर। अनि चप्पललाई त्यस्तो सारो मत्लब कस्ले पो गर्छ र, न चप्पल कराउँछ न त रून्छनै । त्यही माथि म चप्पलको सौख राख्ने मान्छे पनि परिन ।
जहाँ सम्म मलाई याद छ एकपल्ट म सँग स्बाट्ट खुट्टा छिराउँने एउटा चप्प्ल थियो कालो रङ्गको हात्तीछाप । त्यो चप्प्ल खुकुलो भएकाले फुटबल खेल्न गाह्रो थियो । सोच्थेँ कहिले यो चप्पल चुँडिएला र बाबालाई अर्कौ चप्पल किन्न लगाउँ भनेर । यो लगभग म पाँच छ कक्षा पढ्दाको कुरा हो , अहिले त म जस्को , जस्तै चप्पल भेट्यो त्यही लगाएर हिँडिदिन्छु अनि पसलको छेउबाट गुज्रदा आहा कस्तो राम्रो चप्पल , किन्न पाए नि हुने जस्तो कहिल्यै हुँदैन पनि । जोड जाड गरेर हेर्ने भने त्यही एकपल्ट होला मलाई चप्पलको रहर लागेको । अचम्म त के भने कहिल्यै चप्पलको रहर नलागेको मान्छेले राती चप्पल देख्नुको के अर्थ ? यस्तो पनि लाग्छ मलाई चप्पलले तर्साको हुनु पर्छ ।
अघि सम्म यस्तो भएको होला त्यस्तो भएको होला भनेर सोच्न सम्म सकिरहेको थिएँ अहिले एकाएक म अचेतझै भएको छु । बिहानै साढे पाँच बजे मनीङ्ग वक हिड्न निस्दै गरेको मैले हिजो राती त्यही ढोका अगाडि खोलेको रातो चप्पल देखिन । सबै भन्दा ढिला गेटको चाँबी लगाएर घर पसेको पनि मै हो हिजो । राती त्यही चप्पल झुन्डेको देख्नु अनि बिहान एकाएक त्यही चप्पल हराउँनु कस्तो संयोग हो ? उठेर झुलको हुकमा पनि हेरेकै हो केही थिएन , तैपनि कुन पागलले कोठामा आफु सुत्ने खाटमाथि झुन्डाउँँछ र चप्पल ?
मलाई चप्पलको खासै रहर छैन अनि त्यो चप्पल पनि केही खास थिएन । पोहोर कि परार हो याद पनि छैन तिनचारसयमा होला भाटभटेनीबाट किनेर ल्याएको, क्रक्सको डुप्लीकेट । कसरी हराउँछ त एकाएक चप्पल ? राती कोही आएर लगायो भनौ भोँ पनि गेट लगाएको थियो त्यही माथि त्यो पुरानो चप्पल हेर्दा लगाइहालौ जस्तो पनि छैन ? हावाले उडायो भनौ भनेँ राती हावा चलेकै थिएन , कुकुरले बोक्यो भनौ भनेँ पनि कुकुर बुढो भएर आँखा नदेख्ने भएको छ । चप्पल आँफै हिँडेर कतै गयो भनौ भने पनि चप्पलको खुट्टा हुनु भित्ताका कान हुनु भनेको जस्तै हो , तैपनि खुट्टाको पो चप्पल हुन्छ त चप्पलको खुट्टा हुनु असम्भब कुरो हो नि, होइन र ?
अरू बेला चप्पल हराएको भए म सायद त्यस्तो ध्यान दिन्नथेँ होला, तर हिजो राती ( सायद सपना ) मा त्यै चप्पल देख्नु अनि आज एकाएक चप्पल हराउँनु , केही न केही सम्बन्ध त होला ? कि तर्साएकै हो मलाई त्यो चप्पलले ? अब सम्झेर ल्याउँदा चप्पल म सँग रिसाउँनु पर्ने केही काम पनि गरेको थिइन मैले , न कतै काँटीमा टेकेर चोटनै लगाइदेको थिएँ, न गु किल्चेर गनाउँनेनै बनाएको थिएँ । कि हेपेर खुट्टामा लगाएँ भनेर रिसायो त चप्पल ? त्यतो हुने भए त कट्टुले हरेक रात तर्साएर उल्का गर्नु पर्ने हो, उसलाई गोप्य अङ्ग छोप्न लगाएको रिसमा , हैन र ?
अब चप्पल चोर्ने चोरनै आयो भने पनि त्यो चप्पल चोर्नुको अर्थ देख्दिन म त , मैले त त्यो चप्पल लगाउँन छोडेको पनि धेरै समय भएसकेको थियो, पुरानो भएर लगाइहालौ जस्तो पनि थिएन । आजकल त म फितावाला प्याट प्याटे चप्पल लगाएर हिड्छु । साँच्चै, हिजो राती गेट लगाउन जाँदा कुन चप्पल लगाएको थिएँ मैले ? कि हिजै देखि थिएन रातो चप्पल यहाँ ? पछिल्लो पटक कहिले लगाएको थिएँ मैले त्यो चप्पल ? सम्झन खोज्छु तर याद आइरहेको छैन पछिल्लो पटक कहिले लगाएको थिएँ । पाँच दिन अगाडि बिस्कुट किन्न जाँदा पो हो कि ? या अस्ति साथीकोमा जाँदा ? अहँ कसै गर्दा पनि याद आइरहेको छैन । हराएकै भए पनि यत्रो दिनसम्म त देख्नु पर्ने हो । एकाएक घरबाट चप्पल हराएको कसलाई पो याद हुँदैन र ? कि हुँदैन ?
सोचिरहेको छु, ठिकै छ चप्पल त हरायो । धेरै समय देखि नलगाएको भएर याद नभएको पनि होला तर राती ( सायद सपना ) देख्नुको अर्थ के ? आखिर मलाई यो सबै कुराले के भन्न खोजिरहेका छन् ? आफ्नो सामानको ख्याल गर् भनेर बताइरहेको हो कि ? चप्पलले मलाई खोज भनेको हो कि ? अर्को किन् भनेको हो कि ? कि तैले बिर्सीएको कुराले पनि बेला बेला तँलाई सम्झन सक्छ भनेको हो ?
खै किन अचम्मको कुरा खेलिरहेको छ मनमा कतै सधै सँगै हिँड्ने मैले एकाएक मतलब नगरेका कारण न्यास्रेर आत्महत्या गरेको त हैन मेरो चप्पलले ? तर आत्महत्या गरे पनि लास त हुनु पर्ने होइन र ? कि होइन ?
- बिजय लुईटेल
Comments
Post a Comment