बलि राजाको पक्राउ

Photo : Kamil Ghais/Flickr

तीनतले घरको छतबाट पहिले तल्लाको झ्यालसम्म झरेर पिल पिल गर्दै बलिरहेको झिलीमिली बत्तीलाई एकछिन टोलाएर हेर्यो र बसन्तले भन्यो जाऔँ साथीहो अब यो घरका मान्छे तल झर्छन जस्तो लाग्दैन मलाई । उसको स्बर लगातर आधा घण्टा भट्टयाएपछि सुकेको थियो, तिर्खा पनि उतीनै लागेको थियो, पाएको भए एक अम्खोरा पानी एक सासमै रित्याइदिने थियो । पछाडिबाट रमेशले भन्यो जाने भए जाउँ तर आशिष दिएर जाउँ , घरबेटीले  गति छाड्यो भनेर हामीले छाड्नु हुँदैन । खोयाको गति नछाड्नु, सालेहरू माथी जाँड धोेकेर तासमा नारिएका होलान , यत्रो बेर गाएको नसुन्नेले हाम्रो आशिष सुन्छन् जस्तो लाग्छ तिमीहरूलाई झोक्कीदै भन्यो पुण्यरामले । पुण्यरामको कुराले देउसी टोलीमा थोरै खैलाबैला भयो , केटाहरूको गाइगुई बढ्न थाल्यो । ठिकै छ नि त यत्रो बेर त खेलियो अब दुई मिनेट त हो म भट्टाउँछु अनि जाउँला, ल बिष्णु मादल बजा, सकेर गइहालौ अब त अबेर पनि भैसको दरबार पुग्नु छ, बसन्तले सुकेको स्वरमा भन्यो । बसन्तका कुरा भुईमा झर्न नपाई बिष्णुको मादलले ताल दिइहाल्यो अनि आशिष सुरू भयो ।

बसन्त : आहै, भन मेरा भाइहो 
देउसे : देउसीरे

बसन्त : आहै, राम्ररी भन
देउसे : देउसीरे

बसन्त : आहै, स्वर मिलाइ कन
देउसे : देउसीरे

बसन्त : आहै, देउसीरे भन
देउसे : देउसीरे

बसन्त : आहै, यसैमा घरका
देउसे : देउसीरे

बसन्त : आहै, लाला र बाला
देउसे : देउसीरे

बसन्त : आहै, दुबो जस्तै 
देउसे : देउसीरे

बसन्त : आहै, मौलाइ रहुन
देउसे : देउसीरे

बसन्त : आहै, यसैमा घरका
देउसे : देउसीरे

बसन्त : आहै, परेवा पन्छी
देउसे : देउसीरे

बसन्त : आहै उड्दामा खेरी
देउसे : देउसीरे

बसन्त : आहै, आकाशै ढाकुन
देउसे : देउसीरे

बसन्त : आहै, बस्तामा खेरी 
देउसे : देउसीरे

बसन्त : आहै, पृथवी ढाकुन
देउसे : देउसीरे

बसन्त : आहै,, यसैमा घरमा
देउसे : देउसीरे

बसन्त : आहै, लक्ष्मीले 
देउसे : देउसीरे

बसन्त : आहै, बासै गरून 
देउसे : देउसीरे

बसन्त : आहै, बासै गरून 
देउसे : देउसीरे

देउसी सकेर केटाहरू बिस्तारै आफुले ल्याएको झोला मिलाउँन थाले, जसमा पोहोरको भन्दा पनि थोरै भिक्षा थियो , या भनौ छैनको बराबर थिएँ बस्तुहरू । अरूले झोला मिलाउँदा बसन्त भने एकटक त्यही घरमा हेरिरह्यो । घरको दोस्रो तलाको झ्यालबाट एउटा लगभग पाँच सात बर्षको केटो आफ्नो दुबै हातले चिउँडो अडाएर बसन्तलाई नै हेरिरहेको रहेछ । त्यो केटोले बसन्तलाई यस्तो नजरले हेर्यो, मानौ बसन्त कुनै अर्कौ ग्रहको प्राणी हो । केही बेर झ्यालबाट हेरेर त्यो केटो बसन्तको नजरबाट बिलिन भयो ।

बाहिर बसन्तलाई हेरेर भर्खर दाजुको कोठामा आएको केटोले बसन्तकै उमेरको आफ्नो दाजुलाई सोध्यो, दाई ति अघिका मान्छे किन आएका ? मोबाइलमा एकोहोरो भएर हेरीरहेको दाजुले उसको कुरा सुनेन वा भनौ सुन्न चाहेन, केही नबोली बसीरहयो । भाइले निकै बेर कराएपछि दाइले झर्कदै भन्यो देउसी खेल्न आएका हुन, जा अब सुत एघार बजीसक्यो । भाइलाई सोध्न मन लागेको थियो दादा देउसी भनेको के हो ? तर दाजु भर्खरै जसरी झर्केको थियो त्यो सम्झेर सोध्नै सकेन । मन खिन्न बनाएर ओछ्यानमा पल्टियो । उसलाई मनमा लागेको थियो एकपल्ट बाबालाई सोधौ कि भनेर, तर हिजो मात्रै तास खेलेको बेलामा बाबाको छेउ बस्दा बाबाले भनेको सम्झियो , बाबु सानो मान्छे तास खेलेका ठाँउमा आउँनुहुन्न । अनि मनमनै सोच्यो सायद त्यो तुङ तुङ गरेर बज्ने कुरा देउसी हुनु पर्छ । यस्तै या सायद अरू केही सोच्दै केही बेरमा निदायो ।

त्यो केटो निदाउन्जेलमा भने देउसे टोली एउटा धना जङ्गको बाटोमा हिडिरहेका थिए । अब थोरै मात्र पर हो साथीहो हामी दरबार पुग्न आट्यौ, बसन्तले दरबार नजिकै भएको आसवासन दिँदै भन्यो । केटाहरू सबै निरास देखिन्थे , सबैको मुहारको चमक हराएको थियो । दरबारमा गएर के भन्ने होला भनेर सबै बाहाना सोच्नमा ब्यस्त थिए । केही बेर हिडेपछि उनीहरू ठूलो दरबारको मुल ढोकामा आइपुगे । ढोकाकै छेउमा एउटा दरबान कुर्सीमा मस्त निदाइरहेको थियो । बसन्तले उसलाई उठाउँनका लागि सुकेको स्वरमा आवाज दियो, दाइ , हामी राजालाई भेट्न आएका ढोका खोलिदिनु न । दरबान बिस्तारै आँखा मिच्दै उठ्यो र भन्यो, को हो तपाईहरू ? अनि पुण्यरामलाई हेरेर बसन्तलाई देखाउँदै भन्यो अनि यो केटी जस्तो बोल्ने केटो को हो ? 

पुण्यराम र अरू केटाहरूले हाँसो थाम्नै सकेनन् , साँच्चै धेरै भट्टयाएर बसन्तको स्वर केटीकोझै भएको थियो । खुब आशिष दिएर जाउँ भन्थिस नि मुला थाहा पाइस नि हैन ? कि यहा पनि एकछिन भट्टयाउने हो ? पुण्यरामले जिस्काउँदै भन्यो । नकरा सालाहरू कति जिस्केको, बसन्तले केटीकै स्बरमा भन्यो । केटाहरू फेरी एकपल्ट हाँसेर मुर्छा परे । त्यतीकैमा दरबानले भनेँ भाइहरू देउसे हुनुहुँदो रहेछ, जानुहोस तर धेरै बेर नलगाउनु होला, महाराज आजकल खासै खुसी हुनुहुन्न , सुनिन्छ मार्क जुकरबर्गले गर्दा उहाँको निद्रा हराएको छ । भित्र गएर मार्कको नामचै नलिनुहोला । केटाहरू बिस्तारै दरबानले खोलिदिएको ढोकाबाट भित्र पसे । 

तिहारले दरबार पुरै उज्यालो भएको थियो, बाटै भरी दियो बालेर सजाइएको थियो । केटाहरू बिस्तारै दियो बालेको बाटो हुँदै दरबार भित्र पसे । एउछा लामो सभाकक्षको अन्तिममा राजा आफ्नो रानगद्धीमा झोक्राएर बसिरहेका थिए ।  केटाहरू राजा सामु पुगेर उनलाई हात जोडे । बली राजाले खुसी हुँदै भने के ल्यायौ त देउसे ? अनि एक एक गर्दै सबैको अनुहारमा हेरे तर कसैको अनुहार देखेनन् , सबै देउसेको अनुहार त सभाकक्षको भुईले मात्र देख्यो । किन बोल्दैनौ ए केटा हो, भन के लिएर आयौ ? बली राजाले रिसाउँदै भने । कालो मुख लगाएर रमेशले सानो बोरामा भेला पारेको दुई माना चामल, एक दुई वटा केरा र पाँच सात वटा सेल रोटी देखायो । बसन्त , पुण्यराम र अरू सात आठ जना देउसे कालो बाट निलो भए । 

बली राजाले एकदमै निराश भएर भनेँ , भन त ए बसन्त , हरेक बर्ष किन यसरी मेरो सामु झन झन थोरै भिक्षा लिएर आउँछौ तिमीहरू ? के तिमीहरू देउसी खेल्दा मेरो नाम लिदैनौ , मैले पठाएको भन्दैनौ ? 

महाराज म हजुरलाई सबै कुरा बिस्तारमा बताउँछु, तर त्यो भन्दा पहिला मेरो एउटा अनुरोध छ कि म प्यास मेटिने गरी पानी पिउँन पाउँँ । यो सुनेर राजा साँच्चै चिन्तित भए र दासीलाई एक अमखोरा पानी मगाए । बसन्तले त्यो पानी एक सासमा सिध्यायो । पानी पिउँदा उसको रुद्रघण्टी बजेको आवाजले त्यो शुन्यतालाई अझ शुन्य बनाएको थियो । पानी पिएर केटाको आवाजमा बसन्तले भन्यो , महाराज क्षमा गर्नुहोस हामीलाई,अब यो समाजले हजुरलाई बिर्सदै गइरहेको छ , हजुरको नाम लिएर देउसी हिड्ने देउसे पनि बषै पिछे पातलिदै गएका छन् । तपाईका नाममा भिक्षा माग्ने धेरै मान्छे सहरका पबहरूमा मातेर रातभरी नाँचीरहेका छन् , अनि सुरक्षामा खटेका प्रहरीहरू हजुरका देउसेलाई दस बजे पछि गाउँन रोकिरहेका छन् , हामीले त उनीहरूको आँखा छलेर आज एघार बजेसम्म जसो तसो देउसी खेलेर आयौँ । 

महाराज एकछिन मौन भए अनि केही सोचेजस्तो गरेर भने अनि बसन्त घर बस्ने पनि त निकै थिए होलान नि तिनले मेरो नाममा भिक्षा दिन मानेनन् ? महाराज हामी गएको धेरै घरमा मान्छे त थिए तर उनीहरूसँग समय थिएन । कोही हातमै भिक्षा लिएर आएँ, उनीहरूको एउटा हातमा मोबाइल थियो अर्कोमा पैसा । पैसा दिँदा पनि उनीहरूको आँखा मोबाइलमै थियो, मलाई लाग्छ ति भिक्षा दिने कसैलाई पनि हाम्रो अनुहार याद छैन ।लाग्थ्यो उनीहरू हाम्रो भिडियो खिच्न मात्र त्यहाँ आएका हुन् । महाराज कोही त देउसेलाई भिक्षा दिन तल सम्म पनि झरेनन्, बसन्तले निराश भएर सुनायो ।

महाराज मैले सुनेको अर्को कुरा के भने , मार्क जुकरबर्गले हजुरका प्रजालाई दासी बनाएका छन् रे, सबैको समयलाई बन्दी बनाएको छन् भन्ने सुनेको छु, बसन्तले सानो स्वरमा महाराजलाई सुनायो ।   

महाराजले त्यो कुरा सुनेपछि केही बेर सोचमग्न भइ सभाकक्षको चक्कर लगाए र भने, बसन्त मलाई डर लाग्न थालेको छ, सबैले मलाई बिर्सन्छन् कि भनेर । यो कुरा भन्दा बलीराजाको आँखा आँसुले भरिएका थिए । राजा पदको बाधले यदी नछेकेको भए सायद उनको आँसु बग्ने थियो । 

महाराज मलाई पनि साँच्चै डर लाग्न थालेको छ, आज पानी पिउँन नपाएर घिटघिटी हुँदा पनि कोही घरबाट निस्केनन् । मलाई त लाग्छ मार्क जुकरबर्गले हजुरका प्रजाको समयलाई मात्र नभएर मानवता र पहिचानलाई पनि बन्दी बनाएको छ । अब त हजुरले आफ्नो प्रजाको बारेमा सोच्ने बेला आएको छ , बसन्तले यती भनेर लामो सास लियो ।

बसन्तले लामो सास लिन मात्र भ्याएको थियो बलिराजाले पनि लामो सास लिए । राजा निकै ठिटलाग्दो देखिएका थिएँ । उनको अनुहारमा आफु राजा भएको वा नभएको अलमल झल्कन्थ्यो । राजाले बिस्तारै बसन्तको कपाल मुसारे अनि भने भइगयो, म रिसाउँदिन नरो , बरू भोक लागेको होला खाएर जानु अनि सबै साथीलाई पनि खुवाउनु , बरू रमाउँन पुगेको छैन भने एकछिन यतै नाचगान गरे हुन्छ, खुसीको चाडपर्वमा यसरी मुख बिगार्नु हुन्न ।

भक्कानीदै बसन्तले भन्यो महाराज मैले आज एउटा केटो देखेँ जो हामीले देउसी खेलेको एउटा घरको झ्यालमा बसेर तपाईलाई खोजीरहेको थियो । मलाई डर छ महाराज, बाटो बिराएका हजुरका प्रजाले के उसलाई तपाईसम्मको बाटो देखाउलान् ? महाराजले केही नभनी बसन्तको कपाल एकछिन मुसारे अनि बिस्तारै थाके जस्तो चालमा आफ्नो सयनकक्ष तिर लागे । 

सुनिन्छ त्यो रात देउसे केटाहरूलाई राजाको दरबारमा नाचगान गर्दैगर्दा प्रहरीले समाएर लग्यो अनि भोली पल्ट भाइटिकाको दिन छोड्यो तर उनीहरूसगैँ पक्राउ परेका बली राजाको भनेँ आज सम्म अत्तोपत्तो छैन । के तपाईहरूले बलिराजालाई कतै देख्नुभएको छ ? 

  - बिजय लुईटेल 

Comments

  1. अति नै सान्दर्भिक ... शब्द मा... शब्द प्रतिस्थापन गर्दा सबैले पढ्न योग्य हाेला....

    ReplyDelete
  2. dhanyabad uncle sudharna prayas garnechu 🙂

    ReplyDelete
  3. man choyo ni lekhek jiyu

    ReplyDelete
  4. ❤️❤️😘😘

    ReplyDelete

Post a Comment